एमालेको नेपाल-खनाल पक्षद्वारा राष्ट्रिय कार्यकर्ता भेला आह्वान

काठमाडौं । नेकपा एमालेको माधव नेपाल, झलनाथ खनाल पक्षले राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्ने भएको छ।
सो पक्षले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला बोलाएको हो। सो बैठकबाट ‘महत्वपूर्ण’ निर्णय हुने नेपाल पक्षीय नेता भीम रावलले जानकारी दिए।
भेलामा जिल्ला कमिटीका पदाधिकारीदेखि सबै प्रदेश कमिटीमा आबद्ध पदाधिकारी र सदस्यहरु, स्थानीय तहमा निर्वाचित प्रमुख र उपप्रमुखहरु, एमालेका स्थायी कमिटी, केन्द्रीय कमिटीदेखि जनसंगठनमा रहेकाहरू, संघीय संसद र प्रदेश सभाका सदस्यहरु सहभागी हुने रावलले बताए।
सो भेलालाई कतिपयले नेकपा एमाले औपचारिक रुपमा विभाजन भएको घोषणा हुनसक्ने भेलाका रुपमा हेरेका छन्।
शुक्रबार मात्र बालुवाटारमा बसेको एमाले केपी ओली समूहको बैठकले माओवादी नेतालाई केन्द्रीय सदस्यमा मनोनित गर्दै पार्टीमा अध्यक्ष र महासचिव बाहेक सबै पदाधिकारीको पद खारेज गरेको थियो। साथै आगामी मंसिरमा महाधिवेशनको मिति घोषणा गरेको थियो।
अध्यक्ष ओलीको एकलौटी निर्णयपछि नेपाल समूहले शनिबार यस्तो निर्णय गरेको हो। ओली समूहले नेताहरुको जिम्मेवारी खोस्दै आफू पक्षीय नेताहरुलाई प्रदेशको जिम्मेवारी दिएपछि नेपाल पक्षले आजै समानान्तर कमिटी समेत गठन गरेको छ।
काठमाडौंको अर्याल होटलमा बसेको नेपाल पक्षको बैठकले शुक्रबारको ओली पक्षको बैठकले गरेका कुनै पनि निर्णय नमान्ने निर्णय गरेको हो। साथै बैठकले सरकार परिवर्तनको सन्दर्भमा पनि अन्य दलसँग छलफल गर्ने निर्णय गरेको छ। यसबारेमा भेलाले थप रणनीति तय गर्ने नेता रावलले बताए।