निर्वाचन आयोगमा एकता अघिको ढड्डा खोज्दै एमाले र माओवादी

काठमाडौं । सर्वोच्च अदालतको फैसलापछि पूर्ववत अवस्थामा फर्किएका नेकपा एमाले र माओवादी केन्द्र पार्टी एकता अघिको कागजातका लागि निर्वाचन आयोग धाइरहेका छन् ।
२०७५ साल जेठ ३ गते पार्टी एकता गरेर नेपाल कम्युनिस्ट पार्टी(नेकपा) गठन गरेका एमाले र माओवादी केन्द्रलाई सर्वोच्चले जेठ २ को अवस्थामा पु¥याइदिएपछि एकीकरण पूर्वका दस्तावेज खोज्न उनीहरु निर्वाचन आयोग पुगेका हुन् ।
पार्टी एकता भएको करिब ३ वर्ष भइसकेको अवस्थामा सर्वोच्च अदालतले पूरानै पार्टी कायम गरेपछि एकीकरण अघि पार्टीको अवस्थाबारेका डकुमेन्ट खोज्न एमाले र माओवादी केन्द्रका प्रतिनिधि निर्वाचन आयोग आइरहेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए ।
दुबै दलले ढड्डा पल्टाएर आफ्ना पुरानो रेकर्ड खोजिरहेको उनले जानकारी दिए ।
एकीकरण पूर्व पार्टीको अवस्था, विधान, आयोगमा अद्यावधिक गरिएका कागजात, पदाधिकारी, स्थायी कमिटी, केन्द्रीय सदस्य लगायतको विवरणको खोजी उनीहरुले गरिरहेका हुन् ।
साविकको माओवादी केन्द्रले एकता अघि केन्द्रीय सदस्यको संख्या ४ हजार हराहारी बनाएको थियो । तर अहिले पार्टी व्यूँतिएपछि आइतबार(आज) बसेको केन्द्रीय कमिटीको बैठकमा भने उसले एमालेसँग एकता गर्दाको संख्यामा रहेका केन्द्रीय सदस्यहरुलाई बैठकमा बोलाएको छ ।
पार्टी अभिलेखीकरणको निम्ति माओवादी केन्द्रले दर्ता हुँदाको बखत पेश गरिएको आवश्यक कागजात उपलब्ध गराउन आयोगलाई अनुरोध गरेको थियो । त्यसका लागि माओवादी केन्द्रले पूर्व महान्यायाधिवक्ता मुक्ति प्रधानलाई जिम्मा लगाएको छ । त्यस्तै एमालेबाट अध्यक्षसमेत रहेका प्रधानमन्त्रीका कानूनी सल्लाहकारले अभिलेख संकलन गर्नसक्ने आयोग स्रोतले जनाएको छ ।
गोपाल किराँती आयोग पुगे
माओवादी केन्द्र र एमालेबीचको एकता प्रकृयामा असहत नेता गोपाल किराँतीले माओवादी केन्द्रलाई निरन्तरता दिएका थिए ।
उनले उक्त दल रितपूर्वक निर्वाचन आयोगमा दर्तासमेत गरेका थिए । तर सर्वोच्च अदालतले प्रचण्ड नेतृत्वको माओवादी केन्द्रलाई निरन्तरता दिएपछि किराँतीलाई निर्वाचन आयोगले पार्टीको नाम र चुनाव चिह्न परिवर्तन गर्न आग्रह गर्दै पत्र पठाएको थियो ।
पत्र पठाएपछि किराँती आइतबार आयोगको कार्यालय पुगेका छन् । आयोगका पदाधिकारीसँग कुरा गर्न किराँतीसहित तीन जना पुगेका थिए ।
उनीहरुले आफ्नो दलको नाम र चुनाव चिह्न गएकोमा कुनै विवाद नगरेको र प्रकृया पु¥याएर तोकिएको मितिमा आउने बताएका थिए ।
थपलियाका अनुुसार, आयोगमा दर्ता भएका पार्टीको सूची र आयोगसँग सुरक्षित चुनाव चिह्नहरु किराँतीले लगेका छन् ।
आयुक्त थपलियाका अनुसार किराँतीले निर्वाचन आयोगले यस्ता समस्या हुने निर्णय आगामी दिनमा नगरोस् भन्ने सुझाव दिएका थिए । त्यस्तै नेकपा एमालेको नाममा दर्ता भएको सन्ध्या तिवारीको टोलीलाई पनि आयोगले पत्र पठाएको थियो ।
तिवारी मुलुक बाहिर रहेको र एक दुई दिनमा फर्किएर आयोग पुग्ने जनाइएको छ । उनको दलको नाम परिवर्तन गर्नुपर्ने छ । तिवारीको पार्टीलाई उदाउँदो सूर्य चुनाव चिह्न प्रदान गरिएको थियो ।