माओवादी केन्द्रको बैठक : प्रदेश इञ्चार्जहरुको ब्रिफिङ, भोलि फेरि बस्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको केन्द्रीय समिति बैठक भोलि फेरि बस्ने गरी सकिएको छ । बैठक भोलि बिहान ११ बजे फेरि पेरिसडाँडामा बस्नेछ ।
आइतबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकमाप्रदेशका नेताहरूले आफ्नो प्रदेशमा पार्टी सगठनको अवस्थाबारे रिपोर्टिङ गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
प्रदेश १ बाट सावित्री भुषाल, २ बाट विश्वनाथ साह, बागमतीबाट नारायण दाहाल, गण्डकीबाट हितराज पाण्डे, लुम्बिनीबाट ओनसरी घर्ती, कर्णालीबाट माया शर्मा र सुदूरपश्चिमबाट नेपबहादुर चौधरीले बैठकमा रिपोर्टिङ गरेका थिए ।
बैठकमा बोल्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकतालाई खारेज गर्ने सर्वोच्च अदालतको फैसला समस्या भएको बताएका थिए । अदालतले अनावश्यक ठाउँमा हात हालेको पनि प्रचण्डको भनाइ थियो ।
बैठकपछि नेता नारायणकाजी श्रेष्ठले केपी शर्मा ओलीलाई सरकारबाट बहिर्गमन गर्नु अनिवार्य भएको बताए । तर आजको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे भने केही निर्णय नगरेको उनले बताए ।
माओवादी त्यागेर अन्य दलमा गएकाहरुलाई हिजै स्पष्टिकरण सोधिएको र त्यसलाई आजको बैठकले अनुमोदन गरेको उनले जानकारी दिए ।