एमाले विवाद- वामदेव गौतमले पनि बोलाए अलग्गै भेला

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पनि आफ्नो समूहको छुट्टै भेला आह्वान गरेका छन् । गौतमले मंगलबार (चैत ३) गते ललितपुरमा बस्ने गरी आफू पक्षीय केन्द्रीय सदस्यहरुको भेला बोलाएका हुन् ।

अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार मात्रै सबै पदाधिकारीहरुको जिम्मेवारी खोसेर केन्द्रीय कमिटी विस्तार गरेका थिए । ओलीको उक्त कदमप्रति वामदेव गौतमसहित वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपालले पनि विरोध जनाएका छन् ।

अध्यक्ष र महासचिव बाहेकका पदाधिकारीको जिम्मेवारी खोस्ने तथा केन्द्रीय समितिमा २३ जना मनोनयन गर्ने ओलीको कदम सच्याइनुपर्ने गौतमको अडान छ ।

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि तत्कालीन नेपाल कम्युनिस्ट पार्टी विभाजित भएको थियो । नेकपा विभाजित हुँदा गौतम भने एकताको पक्षमा थिए ।

गौतमले तत्कालीन नेकपा रहँदा पार्टी एकता अभियान नै घोषणा गरेका थिए । तर, सर्वोच्च अदालतले फागुन २३ गते नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नाम ऋषि कट्टेल नेतृत्वको पार्टीले पाउने ठहर गर्दै एमाले र माओवादी केन्द्र साबिक अनुसारै अलग अलग पार्टी रहने फैसला सुनाएको थियो ।

सर्वोच्चको उक्त फैसला पछि ब्यूँतिएको एमालेमा पनि आन्तरिक विवाद झन चुलिएको छ । ओलीले आफू र महासचिव बाहेकका पदाधिकारीको जिम्मेवारी खोसेपछि झलनाथ खानल र माधव नेपाल समूहले समानान्तर समिति गठन गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button