राष्ट्रपति भवनमा सर्वदलीय बैठक: देउवा–प्रचण्ड सहभागी, खनाल–नेपालद्वारा बहिस्कार

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा सर्वदलीय बैठक शुरु भएको छ । राष्ट्रपति भवन शीतल निवासमा सर्वदलीय बैठक शुरु भएको हो ।

बैठकमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका अध्यक्ष र पूर्वप्रधानमन्त्रीहरू सहभागी छन् ।

बैठकमा प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द तथा मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी सहभागी छन् ।

त्यस्तै कांग्रेसबाट देउवासहित नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि र महामन्त्री डा. शशांक कोइराला सहभागी छन् । माओवादीबाट प्रचण्डसहित नेता नारायणकाजी श्रेष्ठ पनि सहभागी भएका राष्ट्रपति कार्यालयले जनाएको छ ।

जसपाबाट उपेन्द्र यादव र महन्थ ठाकुर बैठकमा सहभागी छन् । यस्तै, राप्रपा, नेमकिपा, राष्ट्रिय जनमोर्चाका नेताहरू पनि बैठकमा सहभागी छन् ।

सत्तारुढ दल नेकपा एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल भने बैठकमा सहभागी भएका छैनन् । उनीहरूलाई पूर्वप्रधानमन्त्रीको हैसियतमा राष्ट्रपति कार्यालयले बोलाएको थियो । बैठकमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि गएका छैनन् ।

पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न भन्दै राष्ट्रपति भण्डारीले सर्वदलीय बैठक बोलाएकी हुन् ।

यद्यपि सर्वदलीय बैठक बोलाइएको विषयमा राष्ट्रपतिको आलोचना पनि भइरहेको छ । प्रतिनिधि सभा विघटन गर्दा सर्वदलीय बैठकको आवश्यकता महसुस नगरेकी राष्ट्रपतिले प्रधानमन्त्री ओलीलाई अफ्टेरो पर्दा सर्वदलीय बैठक बोलाएको भन्दै राजनीतिक दलका केही नेताहरुले भने आलोचना गरेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button