नाका खुलाउन र कोदारी सडकको स्त्तरोन्नतिमा निरन्तर लागेका थियौं- अध्यक्ष श्रेष्ठ
सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको २०७४ जेठ २८ गते भएको नवौं अधिबेशनबाट ब्यापारी / ब्यबसायीका नेता बेद बहादुर श्रेष्ठ अध्यक्षमा निर्वाचित हुनु भएको थियो । अध्यक्षमा निर्वाचित भएपछि अध्यक्ष श्रेष्ठले सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको गरीमा बढाउने काम गर्नु भएको छ ।
संघको संस्थागत बिकास र जिल्लाभरका ब्यापारी / ब्यबसायी, कृषक, मजदुरका हितमा काम गरेर चर्चा बटल्नु भएको छ । साथै सामाजिक उत्तरदायित्वका काम गरेर उद्योग वाणिज्य संघको प्रतिष्ठालाई शिखरमा पु-याउनु भएको छ । अझ भनौं अध्यक्ष श्रेष्ठको संघप्रति क्रियाशिलताले मुलुकमा नै संघको पहिचान झन बलियो बनेको छ । अध्यक्ष श्रेष्ठलाई पदाधिकारी, सदस्य र उपसमितिका सबैले साथ दिएका कारण पनि संघको गतिशिलतामा थप टेवा पुगेको हो । अध्यक्ष श्रेष्ठको कार्यकाल अब केही दिन मात्र बाँकी रहेको छ । उहाँले पुन अध्यक्षमा उम्मेदवारी दिने मनसाय प्रकट गर्नु भएको छैन् ।

चैत ७ गते सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको दशौं अधिबेशन हुदैछ । ४ गतेबाट सो अधिबेशनको लागि मनोनयन दर्ता हुदैछ । बिगत जस्तै यो अधिबेशनमा पनि सर्वसहमतीका साथ अधिबेशन सम्पन्न गराउने पूर्व अध्यक्ष, बर्तमान अध्यक्ष, पदाधिकारीहरु लागि रहेका छन् । यसै सन्दर्भमा अध्यक्ष श्रेष्ठसंग संस्थागत बिकास र दशौं अधिबेशनमा केन्द्रीत रहेर चित्र मिजारले गरेका संबाद :
१) तपाई अध्यक्ष भएपछि संघ कसरी अगाडि बढेको छ ?
सबैभन्दा पहिले त तपाईलाई धन्यबाद । म अध्यक्षमा निर्वाचित भएपछि संघको धेरै बिकास र प्रगति भएका छन् । संघसंग आबद्ध ब्यापारी / ब्यबसायी, मजदुर, किसान, उद्योग, कलकारखानाको हितमा काम गरेको छु । ब्यापारी, ब्यबसायी एकताबद्ध गराई संघको उन्नतिमा लगाएको छु ।
संघको बिकासमा सबैको साथ र सहयोग पनि पाएको छु । भूकम्प, बाढीपहिरो र कोरोना महामारीपछि सघंले गति लिने काम गरेको छु । बिपतबाट उठेर संघले काम गरिरहेको छ ।
२) तपाईको कार्यकालमा संघमा खास भएका कामहरु के के छन् ?
म र मेरो कार्यसमिति र हामी सबैलाई संघको बिकास गर्न ठूलो चुनौती थियो । २०७२ सालको भूकम्प, २०७३ सालको बाढीपहिरो, जीर्ण कोदारी राजमार्ग, नाका बन्द भएपछि बिस्थापित ब्यापारी, ब्यबसायीका हितमा काम गर्नु पर्ने अति ठूलो चुनौती थियो ।
२०७४ असारमा लार्चा पुल नै बाढी र पहिरोले बगायो । सो कारण नाकासंग जोडिन नै समस्या परेको थियो । नाका सूचारु गर्न, खण्डहर कोदारी राजमार्गको स्त्तरोन्नति गर्न हामीलाई जिम्मेवारी थपियो । यी सबै समस्यालाई समाधान गर्न म र संघको पहलमा संघीय सभामुख, प्रतिनिधि सभाका साँसद, भौतिक पूर्वाधार मन्त्रालय, अर्थ मन्त्रालय, सूचना तथा संचार मन्त्रालय, परराष्ट्र मन्त्रालय, सडक डिभिजन कार्यालयमा संघको टोली नै पुगेर ज्ञापनपत्र बुझाएका थियौं ।
नाका पूर्णरुपमा खुलाउन, सडक सुधार गर्न, ब्यापारी ब्यबसायीलाई तातोपानी नाकामा नै ब्यापार गर्ने वातावरणका लागि लाग्यौं । हामीले नाका सूचारु गर्न र कोदारी सडकको स्त्तरोन्नतिका लागि सबै पक्षसंग निरन्तर पहल र समन्वयमा लागिरहेका छौं ।
३) भवन निमार्णका बारे ?
मेरो कार्यकालमा चौतारामा तीन कोठे सुबिधायुक्त भवन निमार्ण सम्पन्न भएको छ । सो भवन निमार्ण गर्न निकै योगदान परेको छ । सबैको उत्तिकै भूमिका पनि रहेको छ । बाह्बिसेमा रहेको केन्द्रीय कार्यालयका भौतिक पूर्वाधार निमार्ण, रङरोगन, कम्पाउण्ड निमार्ण, कार्यालय ब्यबस्थापन लगायतका धेरै काम भएका छन् । मेलम्चीमा पनि शाखा कार्यालय स्थापना गर्ने काम अघि बढाउने सोच राख्दा राख्दै कार्यकाल सकिन लागेको छ । नेतृत्वमा जो आएपनि यो काम गरिहाल्नु पर्नेछ ।
४) कृषि क्षेत्रमा के-के काम भयो ?
हो, कृषि क्षेत्रमा पनि संघले धेरै काम गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघको सहयोगमा जिल्ला कफी सहकारी संघमा आबद्ध किसानहरुलाई २४ वटा अलैंची सुकाउने मेशिन सहयोग गरेका छौं । पाँच हजार किलो अदुवाको बीउ बितरण, कफी पकेट क्षेत्र बनाउन काम गरेका छौं । पाँच वटा हाते टयाक्टर बितरण गरेका छौं । किसानहरुलाई स्याङजाको वालिङमा अंलैची, कफी खेतीको अध्ययन् अवलोकन भ्रमण गराएर सिकाएका छौं ।
५) सामाजिक उत्तरदायित्वका काम पनि गर्नुभयो नि होइन् ?
हो हामीले धेरै सामाजिक उत्तरदायित्वका काम गरेका छौं । संघले एम्बुलेन्स सेवा संचालन गरिरहेको छ । असहाय, अति गरीब बिरामीलाई निशुल्क रुपमा अस्पताल पु-याउदै आएका छौं । अरु एम्बुलेन्सको तुलनामा अति कम शुल्कमा बिरामीहरुलाई अस्पतालसम्म पु-याएका छौं । शिक्षा, स्वास्थ, लत्ताकपडा, खाद्यन्न सहयोग गरेका छौं । कोरोना महामारीका समयमा प्रतिरोधी स्वास्थ सामाग्री सहयोग गरेका छौं ।
चौतारामा कोही नभएका बृद्धबृद्धालाई नगद, खाद्यन्न, लत्ताकपडा, खाद्यन्न सहयोग गरेका छौं । मेलम्चीका बिद्यार्थीहरुलाई शैक्षिक सहयोग, सोलार सहयोग गरेका छौं । पिस्करका तीन जनालाई सिरकडस्ना, खाद्यन्न, नगद सहयोग गरेका छौं । साथै कोभिड १९ का बेला प्रमुख जिल्ला अधिकारीको समन्वयमा ब्यबसायीले ल्याएका खाद्यन्न जिल्ला भित्राउन सहयोग गरेका छौं ।
ब्यबसायीबाट सहयोग जुटाएर जिल्लाका सूरक्षाकर्मी, प्रशासन, सर्वसाधारणलाई स्वास्थ सामाग्री बितरण गरेका छौं । मुलुकमा जलवायुका कारण कसैलाई असर नपुगोस भनेर जलवायु सम्मेलनमा महत्वपूर्ण काम र सहयोग गदै आएका छौं ।
६) जिल्लाका साना तथा मझौला ब्यापारी, ब्यबसायीका हितमा के-कस्ता काम गर्नुभयो ?
हामीले साना तथा मझौला ब्यापारी, ब्यबसायीका हितमा काम केन्द्रीत रहेर काम गरेका छौं । जिल्लाभरका किराना पसल, पुस्तक ब्यबसायी, तरकारी, फलफूल, क्रसर, उद्योग, कारखाना, हाइड्रोपावर लगायत सबै प्रकारका ब्यापार ब्यबसायको हित, संरक्षण, प्रवद्धनमा सिन्धुपाल्चोक उद्योग वाणिज्य संघले महत्वपूर्ण काम गदै आएको छ । साना ताथ मझौला ब्यबसायको पक्षमा काम गर्न कुनै कसुर बाँकी राखेका छनौं ।
७) दशौं अधिबेशन हुदैछ, के-कस्तो तयारी भएको छ ?
यही ७ गते संघको दशौं अधिबेशन हुदैछ । भोलि अर्थात ४ गते मनोनयन दर्ता हुदैछ । मैले सहज रुपमा नेतृत्व हस्तान्तरण गर्देछु । अधिबेशनको लागि सबै तयारी पूरा भईरहेका छन् । अधिबेशनबाट नयाँ नेतृत्व आउदैं छ । नयाँ जोश जाँगर र उत्साहका साथ नयाँ नेतृत्वले संघको हितमा काम गर्नेछ भन्ने बिश्वास ब्यक्त गरेको छु ।
कार्यसमिति सर्वसहमत रुपमा चयन गर्न हामी लागि रहेका छौं । संघ २५ बर्ष भएकोले यो अधिबेशन रजतजयन्तीको रुपमा पनि मनाउन लागेका छौं । धेरै क्षेत्रबाट संघलाई प्रत्यक्ष सहयोग गर्ने, खेलाडीलाई कदर गरिने पनि छ ।