आमूल परिवर्तन अत्यावश्यक छ

सत्ता चढेका राजनीतिक दलहरूले पहुँच सिर्जना गरी जागिर खुवाएका मान्छेहरू कर्मचारीको रूपमा आवश्यकताभन्दा बढी संख्यामा बस्छन्। एउटै कोठामा चार-पाँचवटा टेबल छन्। ती टेबलपछाडि बसेका कथित कर्मचारीसँग प्रत्येक सेवाग्राहीले विनम्रतापूर्वक सामना गर्नुपर्छ।
मुलुकमा सामन्तीप्रथा कायमै छ भन्ने हेक्का राख्न बाध्य पार्छ अनुभवले, सेवा लिन त्यहाँ पुगेको सेवाग्राहीले एकपछि अर्को टेबलपछाडि बसेका ती अल्छे मान्छेहरूको रुखो बोलीवचन सुन्न तयार हुनुपर्छ। कार्यकक्षमा कम्प्युटर पनि छ, तर त्यो बेकाम छ। कम्प्युटर चलाउने मान्छे र मर्मतको अभाव जहिल्यै देखिन्छ। हुन पनि कम्प्युटर चल्ने भए एउटै काम एकैचोटि हुनसक्थ्यो, तर त्यसो गरिन्न। काममा, लेखाइमा प्रशस्तै गल्ती हुन्छ, र त्यसको मार पनि स्वयं सेवाग्राहीकै काँधमा बजारिन्छ।
सामान्यतः कुनै काम एकै दिनमा पूरा गर्न पाउँदा सेवाग्राहीले आफूलाई भाग्यमानी सम्झनुपर्छ, होइन भने नजराना कि घूसको लेनदेन अनिवार्य भैदिन्छ। “कारण” सिर्जना गरेर “भोलि आउनू” भन्न सक्ने कर्मचारीले वर्षेनी राष्ट्रसेवकका नाममा इनाम पाउँछ। जनसेवासँग प्रत्यक्ष जोडिएका दूरसञ्चार, विद्युत प्राधिकरण, वायुसेवा, आयल निगम, बीमालगायतका संस्थानका कार्यालयहरूमा सेवाग्राहीभन्दा कर्मचारीहरूको संख्या बढी देखिइनु अनौठो होइन ।
अनावश्यक संख्यामा थुप्रिएका ती कर्मचारीहरू सबैजसो खासखास राजनीतिक दलका कार्यकर्ता रे ! कार्यालय परिसरभित्रै विभिन्न दलका भातृसंगठनका साइनबोर्ड देखिन्छन्। त्यहाँ काम थोरै, गफ धेरै र सत्तामा को जाने-नजाने भन्ने बहस, वादविवाद र झडप पनि हुनु स्वाभाविक हो। तसर्थ आमूल परिवर्तन अत्यावश्यक छ…….