कर्णालीमा एमाले विवाद : सरकारलाई दिएको समर्थन ओली पक्षले फिर्ता लियो, नेपाल पक्षको कायमै

सुर्खेत । कर्णाली प्रदेश सरकारलाई नेकपा एमालेको समर्थन कायमै रहेको माधव नेपाल पक्षले स्पष्ट पारेको छ ।
एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेता प्रकाश ज्वालाले एक विज्ञप्ति जारी गर्दै प्रदेश सरकारलाई दिएको समर्थन कायमै रहेको उल्लेख गरेका हुन् ।
आजै बसेको प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षधर यामलाल कडेँल लगायत १० सांसदले माओवादीको नेतृत्वमा रहेको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्दै सरकारबाट फिर्ता आउन मन्त्रीहरुलाई भनेको थियो । तर ज्वालाले गुटको बैठक कानून, विधी र प्रकृया विपरित रहेको र यस्तो बैठकको निर्णय आधिकारिक नहुने जनाएका छन् ।
‘आज मिति २०७७ चैत्र ४ गते नेकपा एमाले प्रदेश सभा दलको नाममा गरिएको भनिएको गुटगत बैठकप्रति हाम्रो ध्यानाकर्षण भएको छ। यस्तो गुटगत बैठक प्रचलित कानुन, बिधि र प्रक्रियासम्मत नभएको प्रष्ट पार्न चाहन्छौं, औपचारिक सूचना नदिएर बोलाइएको गुटगत बैठकले गरेका भनिएका निर्णयप्रति हाम्रो असहमति छ। यो नेकपा ९एमाले० प्रदेश सभा दलको आधिकारिक निर्णय नभएको जानकारी गराउँदछौं। कर्णाली प्रदेश सरकारप्रति नेकपा एमाले प्रदेश सभा दलको समर्थन कायमै रहेको समेत अवगत गराउँदछौं।‘ प्रकाश ज्वालाले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
नेकपा माओवादी केन्द्रले कर्णाली सरकार सुरक्षित रहेको दाबी गरेको छ । माओवादी केन्द्रका संसदीय दलकी प्रमुख सचेतक सीता नेपालीले सरकार ढल्ने सम्भावना नरहेको बताइन् । ‘सरकारको समर्थन लिने निर्णय आधिकारीक एमालेको निर्णय होइन्, यो निर्णयमा एमाले एकताबद्ध छैन,’ उनले भनिन्, ‘राष्ट्रिय राजनीतिको समीकरणअनुसार प्रदेशमा पनि प्रभाव पर्ने भएकाले सरकार अहिले नै ढल्छ भन्ने केही छैन। ’
नेपालीले एमालेबाट सरकारमा सहभागी मन्त्रीले राजीनामा दिने सम्भावना नभएको बताइन् । सरकार अझै पनि बहुमतमा रहेको उनको दाबी छ। उनले एमालेका एउटा समूहका १० जनाले मात्र सरकार नबन्ने भन्दै प्रदेश सरकारले विश्वासको मत लिएर देखाउने दाबी गरिन् ।
४० जना प्रदेश सभा सदस्य रहेको कर्णाली प्रदेश सभामा एमालेका सभामुखसहित २० जना, माओवादी केन्द्र १३ जना, नेपाली कांग्रेस ६ जना र राप्रपा नेपालका १ जना सदस्य छन् ।
अहिले एमालेभित्र ओली पक्षका १० जना सांसद देखिएका छन् । केही दिनअघि मात्रै नेपाल समूहमा रहेका पदम रोकाया र पद्मा खड्का ओली पक्षमा देखिएका छन् । ओली पक्षमा रहेका दुई जना मन्त्री दल रावल र नन्दसिंह बुढा नेपाल समूहमा खुलेका थिए । तर फेरि दुई मन्त्री ओली समूहमा फर्कने हल्ला पनि चलेको थियो ।
नेकपा एमालेका प्रमुख सचेतक गुवाबजंग शाहले अहिले मन्त्री फिर्ता बोलाउने र सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको बताए । उनले बाँकी प्रक्रियामा जाने जनाए ।
एमाले एक भएको खण्डमा पनि सरकार बन्ने अवस्था छैन। सरकारलाई बहुमतका लागि २१ जना संख्या चाहिन्छ। कांग्रेसको साथ अनिवार्य छ। माधव नेपाल पक्ष र कांग्रेस तथा माओवादी एक भएर पनि सरकार बनाउन सक्ने सम्भावनाबारे पनि चर्चा चलेको छ ।