एमालेमा विवाद– केपी ओलीले बेवास्ता गरेको माधव नेपालको त्यो ६ बुँदे म्यासेज

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले आफूले सर्वोच्चको फैसलापछि पार्टीलाई बलियो बनाउन ६ वटा प्रस्ताव गरेको भएपनि अध्यक्ष ओलीले त्यसलाई वेवास्ता गरेको बताएका छन् ।

बुधबार(आज) बाट ललितपुरमा सुरु भएको आफू पक्षधर राष्ट्रिय कार्यकर्ता भेलामा नेता नेपालले ६ बुँदे म्यासेज बालुवाटार पठाएको भएपनि ओलीले त्यसलाई वेवास्ता गरेको आरोप लगाए ।

सर्वोच्च अदालतले पार्टी एकतापूर्वको अवस्थामा पार्टीलाई फर्काइदिएपछि आफूहरु अध्यक्षले बैठक बोलाउँछन् कि भनेर कुरेर बसेको तर वेवास्ता गरेको उनको भनाइ छ ।

बैठक बस्ने आशा गरेर ६ बुँदे म्यासेज पनि पठाएको तर आफूलाई मनपर्ने मान्छेहरुलाई राखेर निर्णय भएको उनले बताए ।

पार्टीमा देखिएको समस्या समाधान, पार्टीलाई विधी र पद्दतीबाट चलाउन छलफल गर्न खोजेको भएपनि ओलीले त्यसलाई लत्याएको उनको आरोप थियो । बैठक बस्दा अल्पमतमा पर्ने डरले गर्दा आफू पक्षधरहरुलाई मात्र खबर गरेर विधी विधान विपरित निर्णयहरु गरेर पार्टीलाई विग्रह तर्फ लगिएको उनको आरोप थियो ।

भेलामा नेता नेपालले आफूले बालुवाटारमा पठाएको ६ बुँदे म्यासेज उल्लेख गरेका थिए ।

१. एकता हुनुभन्दा पूर्वको एमालेको संगठनात्मक संरचना, राजनीति, वैचारिक मान्यताहरु, त्यसका सबै नेतृत्वहरु र सबै सदस्यहरु यथावत रहनेछन् । यहीँबाट प्रास्थान विन्दु हुनेछ ।

२.अबदेखि पार्टीलाई विधि र पद्धतीको आधारमा, संगठनात्मक सिद्धान्तको आधारमा सञ्चालन/परिचालन गरिनेछ ।

३. पार्टीका बैठकहरु कसैको निजी निवास हुनेछैन । सरकारी निवासमा हुनेछैन । पार्टी कार्यालयमा हुनुपर्दछ ।

४. फेरि सिंगो कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध बनाएर लैजाने प्रयासलाई अगाडि बढाउनुपर्छ ।

५. यो सरकारलाई वामपन्थीकै सरकारका रुपमा अगाडि लैजाने काम गर्नुपर्छ ।

६. सरकार सञ्चालन गर्दा पार्टीको मार्गदर्शनमा चल्नुपर्छ ।

‘के यी बेठिक कुरा हुन्?,’ कार्यकर्तालाई माधव नेपालले प्रश्न गरे । यो प्रस्तावलाई लत्याएर ओलीले फागुन २८ गते बालुवाटारमा गुट भेला राखेर विधान विपरीत काम गरेको नेता नेपालको आरोप थियो ।

यसबीचमा ओलीसँग आफ्नो छलफल भएको बताउँदै नेता नेपालले भेला रोक्न भनेको तर आफू चाँही फागुन २८ को निर्णयबाट पछि नहट्ने अहंकारका कारण समस्या उत्पन्न भएको उनले बताए ।

नेता नेपालले अध्यक्ष ओलीकै कारण पार्टीमा विग्रह आएको बताएका थिए । उनले ओलीकै कारण पार्टीमा वितण्डा मच्चिएको र पार्टी विभाजन र विसर्जनको दिशामा पुगेको आरोप लगाए ।

‘आजको यो स्थिति उत्पन्न हुनुमा अरु कोही होइन, एमालेका अध्यक्ष रहनुभएका केपी शर्मा ओलीजी, उहाँ नै सबै कामका निम्ति, सबै बितण्डाका निम्ति, यो सबै अवस्थाका निम्ति, पार्टीभित्र विग्रहका निम्ति जिम्मेवार हुनुहुन्छ’, उनले भने, ‘यसका निम्ति तथ्य र प्रमाण चाहिन्छ भने एक भारी तथ्य र प्रमाण छन्।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button