सगरमाथा आरोही पत्रकार कल्पनाले पाइन् वल्र्ड बुक अफ रेर्कडको प्रमाणपत्र

ललितपुर / विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्न सफल ललितपुरकी पत्रकार कल्पना महर्जन वल्र्ड बुक अफ रेर्कडमा आफ्नो नाम लेखाउन सफल भएकी छिन् ।

वल्र्ड बुक अफ रेकर्डमा कल्पना विश्वको पहिलो पत्रकार महिला सगरमाथा आरोहीको परिचयसहित नाम लेखाउन सफल भएकी हुन् ।

सगरमाथा आरोही उनलाई बुधबार ललितपुर महानगरपालिकामा आयोजित कार्यक्रममा पूर्व राष्टपति डा.रामवरण यादव र ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले वल्र्ड रेकर्डको प्रमाणपत्र प्रदान गरेका थिए । उनले सन् २०१९ मा शिक्षाको माध्यमबाट बालविवाह रोकथाम नारा सहित दक्षिण र उत्तर मोहोडाबाट सगरमाथा चढेकी थिइन् ।

सगरमाथा आरोहणका लागि महानगरले कल्पनालाई सहयोग गरेको थियो । कल्पनाले सगरमाथाको चुचुरोमा ललितपुर महानगरको झण्डा र शताब्दी पुरुष सत्यमोहन जोशीको तस्वीर अंकित ब्यानर राखेकी थिइन् । पूर्वराष्ट्रपति रामवरण यादवले कल्पना नेपाल र नेपालीको लागि गौरव भएको बताए ।

शिक्षा मार्फत बालविवाह रोकथामको लागि कल्पनाले गरेको कामको प्रशंसा गर्दै उनले वातावरण संरक्षणमा पनि काम गर्नुपर्ने धारणा राखे । उनले भने, ‘ग्लोबल वार्मिङले हिमालहरु काला हुँदै गएका छन्, हिमालको हिउँ जोगाउन के गर्न सकिन्छ, त्यस तर्फ काम गर्नु अत्यावश्यक छ । ’ ललितपुर महानगरपालिकाका प्रमुख महर्जनले ललितपुरकी चेली कल्पनाले हिमाल चढेर विश्वमा नेपाल र ललितपुरको नाम उच्च बनाएको बताए । उनले ललितपुर महानगरपालिकाले खुल्ला क्षेत्र र हरियालीलागि पार्कहरु निर्माण गरिरहको बताए ।

उपप्रमुख गीता सत्यालले महिलाले अवसर पाए चुनौतिपूर्ण भनिएका काम गर्न सक्ने बताइन् । सगरमाथा चढेर कल्पनाले ललितपुरलाई विश्व सामू चिनाएको उनले दाबी गरिन् । सगरमाथा आरोही कल्पना महर्जनले सबैको सद्भाव, शुभेच्छाले सगरमाथा आरोहण सफल भएको बताइन् ।

विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गरेपनि समाजमा व्याप्त असमानता, अन्धविश्वासको सगरमाथा आरोहण गर्न कठिन भइरहेको बताइन् । उनले ललितपुरका सामुदायिक विद्यालय शिक्षा र बालविवाह विरुद्ध काम गरिरहेको जानकारी दिइन् ।

वल्र्ड बुक अफ रेकर्ड नेपाल च्याप्टरका अध्यक्ष सागर कटुवालले कल्पना नेपालको गौरव भएको बताए । महिलामा अपार क्षमता भएको बताउँदै समाजले त्यसको मूल्यांकन गर्न नसकेको स्पष्ट पारे ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button