ओलीको कारवाहीबाट जोगिए झलनाथ, नेपाल सहितका नेतालाई स्पष्टीकरण

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा बसेको संसदीय दलको बैठकले माधव नेपाल पक्षका नेताहरुमाथि कारवाही प्रक्रिया अघि बढाउने निर्णय गरेको छ।

आजको बैठकले वरिष्ठ नेता माधवकुमार नेपाल नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।

उनीहरुमाथि पार्टी हितविरुद्ध काम गरेको र नेतृत्वलाई खुइल्याउन तल्लीन रहेको भन्दै स्पष्टीकरण सोध्ने बैठकले निर्णय लिएको हो। यस्तै, वरिष्ठ नेता झलनाथ खनालमाथि भने अध्यक्ष ओलीले कारवाही प्रक्रिया अघि बढाएका छैनन्।

नेता योगेश भट्टराई पनि अध्यक्ष ओलीको कारवाहीबाट जोगिएका छन्। उनको नाम पनि स्पष्टीकरण सोधिएकाहरुको सूचीमा छैन।

आजकै बैठकले संघिय तथा प्रदेश सभाका समानुपातिक सांसदहरूको बन्द सूचीमा रहेको नाम हाटाउने, राख्ने या हेरफेर गर्ने सबै अधिकार अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रत्यायोजन गरेको एक नेताले जानकारी दिए ।

पार्टी केन्द्रीय कमिटी तथा मातहत कमिटीको सदस्यहरूको बिदाइ, मनोनयन तथा कार्बाही गर्ने अधिकार पनि अध्यक्षलाई प्रत्यायोजन गरिएको छ।

आज बसेको संसदीय दल र केन्द्रीय कमिटी बैठक पनि माधव नेपाल पक्षले बहिस्कार गरेको थियो। त्यसपछि ओली समूहले उनीहरुलाई कारवाहीको प्रक्रिया अघि बढाउने निर्णय गरेको हो।

चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला गरेको नेपाल समूह समूहले तल्लो तहसम्म समानान्तर गतिविधि गर्ने निर्णय गर्दै जनसंगठनको भेला गरिरहेको छ।

हिजो महिला संघको भेला गरेको नेपाल–खनाल समूहले आज युवा संघको भेला गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button