प्रतिनिधिसभाले जनताको संसद्प्रतिको विश्वासमा आघात नपर्ने गरी काम गर्छः सभामुख सापकोटा

काठमाडौं, ७ चैत । सभामुख अग्निप्रसाद सापकोटाले पुनःस्थापित प्रतिनिधिसभाले जनताको संसद्प्रतिको विश्वासमा आघात नपर्ने गरी काम गर्ने बताएका छन् ।

जिपी कोइराला मेमोरियल सामुदायिक कलेजको आठौँ वार्षिकोत्सव समारोहलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै उनले कानून निर्माणमा चुनौती सामना गर्दै प्रतिनिधिसभाले जीवन्त र जनमुखी भएर काम गरिने बताए ।

उनले छलफल, बहस, वादविवाद र संवादबाट संसद् अघि बढ्ने भन्दै शान्ति र लोकतन्त्रका लागि लडेका २७५ जनाले संसद्लाई गति दिने विश्वास व्यक्त गरे । उनले नेपालमा दक्षिणपन्थी हावा चलेको भन्दै विचारले नै निकास दिने बताए । त्यस्तै समस्याहरुलाई समाधान गर्नका लागि आवश्यक छलफल अपरिहार्य रहेको तर्क गरे ।

उनले विसं २०५९ मा विघटन भइसकेको प्रतिनिधिसभा पुनःस्थापनाको कल्पना गरेर आन्दोलनका माध्यमबाट पूरा गराउनुले स्व गिरिजाप्रसाद कोइरालाको दूरदृष्टि बुझ्न सकिने बताए ।

कोइरालाको स्मृतिमा खुलेको कलेजले संस्कृति, संस्कार र ज्ञान हस्तान्तरणमा नमूना भएर काम गर्ने विश्वास उनले व्यक्त गरे । त्यस्तै सांसद एवं कलेज व्यवस्थापन समितिका अध्यक्ष भीमसेनदास प्रधानले नेपालको लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान गर्नु भई कार्यवाहक राष्ट्राध्यक्ष र सरकार प्रमुखकोसमेत भूमिका निर्वाह गरिसकेका गिरिजाप्रसाद कोइरालाको चर्चा गरे ।

विसं २०६९ चैत ७ गते स्थापना भई शैक्षिक सत्र २०७० मा ११ जना विद्यार्थीबाट कक्षा शुरु गरिएको निमित्त क्याम्पस प्रमुख शिवप्रसाद अधिकारीले जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button