कांग्रेसको पदाधिकारी बैठक बस्दै

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजेका लागि बोलाइएको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र १४औं महाधिवेशन बारे छलफल हुने पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

कांग्रेसले आगामी भदौ ७ देखि १० गतेसम्म पार्टीको १४औं महाधिवेशन गर्नेगरी तयारी गरिरहेको छ । उनकाअनुसार बैठकमा कांग्रेसको त्रियाशील सदस्य छानविन समितिले अहिलेसम्म गरेको कामको ब्रिफिङ गर्नेछ। ‘आजको बैठकमा विशेषगरी पार्टीको १४औं महाधिवेशनका सम्बन्धमा छलफल हुनेछ ।

एक नम्बरमा त्रियाशील सदस्य छानविन समितिले अहिलेसम्म गरेको कामको ब्रिफिङ गर्नेछ,’ उनले भने,‘दोस्रो नम्बरमा महाधिवेशनको तयारीलाई कसरी छिटो बनाउने भन्ने विषयमा छलफल हुनेछ।’

यस्तै, बैठकमा समसामयिक राजनीतिक परिस्थितिका बारेमा पनि छलफल हुनेछ। ‘स्वभाविक रुपमा प्रमुख प्रतिपक्ष दलका शीर्ष नेताहरू एक ठाउँमा भेला भएपछि समसामयिक विषयमा छलफल हुन्छ,’ मुख्यसचिव पौडेलले भने, ‘बैठकको सुरु नै समसामयिक विषयबाट हुन्छ ।’

नयाँ सरकार गठनकाबारेमा सभापति शेरबहादुर देउवा गम्भीर नभएको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आलोचना गरिरहेको बेला पदाधिकारी बैठक बोलाइएको हो ।

यसअघि आइतबार पौडेल पक्षधर शीर्ष नेताहरुको बैठक बसेको थियो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको सत्ता बहिर्गमनका लागि कांग्रेसले अन्य दलसँगको संवादमा तिव्रता दिनुपर्ने र त्यसका लागि देउवा सक्रिय हुनुपर्ने बारे छलफल भएको थियो ।

नयाँ सरकार गठनका विषयमा कांग्रेसले स्पष्ट धारणा बनाइसकेको छैन । नेता कार्यकर्ताले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्नुपर्ने बताएपनि पार्टी सभापति शेरबहादुर देउवाले स्पष्ट रुपमा मुख खोलिसकेका छैनन् । यद्यपि उनी सरकारको नेतृत्व गर्न कांग्रेस तयार रहेको भएपनि सरकारमा जान हतार भने नभएको बताउँदै आएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button