प्रदेश एक : मुख्यमन्त्री राईले बोलाए संसदीय दलको बैठक

काठमाडौं । नेकपा एमालेको प्रदेश १ को संसदीय दलको बैठक बस्दैछ । सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि पहिलो पटक दलको बैठक बस्न लागेको हो ।
दलको नेतासमेत रहेका मुख्यमन्त्री शेरधन राईले आज बोलाएको बैठकमा आफूविरुद्ध परेको अविश्वासको प्रस्ताव फिर्ता लिनेलगायत अदालतको निर्णयपछि उत्पन्न नयाँ परिस्थितिका बारेमा पनि छलफल केन्द्रित हुने बताइएको छ ।
एमाले संसदीय दलको कार्यलयमा ११ बजेका लागि बोलाइएको बैठकका लागि ५० जना एमालेका सांसदलाई खबर गरिएको प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले जानकारी दिए ।
उनले दलको बैठकमा अनुशासन पालना गर्दै सबै माननीयहरू सहभागी हुने विश्वास लिए। एमाले संसदीय दलमा कुल ५० जना रहेका छन् । जसमा माधव नेपाल पक्षका १६ संसद रहेका छन् ।
माधव नेपाल पक्षका संसद राजेन्द्रकुमार राईले एमालेको दलको बैठकमा आफुहरु सहभागी नहुने बताए पनि केही सांसद गएर मुख्यमन्त्री विरुद्धको अविश्वासको प्रस्ताव केही दिनमा फिर्ता हुने जानकारी गराएर बैठकबाट बाहिरिने बताए ।
तत्कालीन नेकपाको कुल ६७ सांसद रहेकोमा प्रचण्ड-माधव पक्षका सांसदहरूले मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव सदनमा दर्ता गरेका थिए ।