वैशाख १ बाट एमाले मुख्यालय थापाथलीमा, रोवर्टले गर्नेछ स्वागत

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(एमाले) को कार्यालय नयाँ वर्षदेखि थापाथलीमा रहने भएको छ । अहिले धुम्बाराहीमा रहेको कार्यालयलाई थापाथली हाइटस्थित उमंगमार्गमा रहेको एक घरमा कार्यालय सार्न लागिएको हो ।

नयाँ कार्यालयको बुधबार प्रधानमन्त्रीसमेत रहेका एमालेका अध्यक्ष केपी शर्मा ओलीले निरीक्षण गरेका छन् । ओलीले निरीक्षण गरेपछि सर्ने मिति घोषणा गरिएको हो ।

प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार मोतिलाल दुगडले वैशाख १ गते पार्टी कार्यालय सर्ने बताए । उनले नयाँ कार्यालय ५ वर्षका लागि सम्झौता भएको जानकारी दिए ।

‘वैशाख १ गतेबाट पार्टी कार्यालय सर्छ, त्यसका लागि हामीले ५ वर्षको एग्रिमेन्ट गरेका छौँ’, दुगडले पत्रकारसँग भने ।

घर भाडामा लिनका लागि दुगडले भूमिका खेलेका थिए । आफूले घरधनी सञ्जय अग्रवाललाई चिनेका कारण कार्यलय सार्ने विषयमा पहलकदमी लिएको उनले बताए ।

पौने चार रोपनी क्षेत्रफलमा फैलिएको भवन साढे २ तलाको छ । यसको कम्पाउन्डमा २५ वटा गाडी पार्किङ गर्न मिल्छ । नयाँ कार्यालय अहिले रहेको धुम्बाराहीको भन्दा ठूलो भएको जनाइएको छ ।

धुम्वाराहीको कार्यालय साँघुरो भएको र बृहत्तर चक्रपथ विस्तारका कारण असहज हुने भन्दै कार्यलय सार्न लागिएको नेताहरुले बताएका छन् ।

ओलीको तस्वीर

नयाँ कार्यालयको मुख्य प्रवेशद्वारमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको ठूलो फोटो राखिएको छ । पार्टी प्रणालीमा व्यक्तिलाई प्रधानता दिइएको भन्दै विरोध भइरहँदा त्यसको वेवास्ता गर्दै अध्यक्षको ठूलो तस्वीर राखिएको हो ।

रोवर्टले स्वागत

एमालेको थापाथलीस्थित कार्यालयमा आगन्तुकहरुले स्वागतको नयाँ अनुभव गर्न पाउने भएका छन् । त्यसका लागि कार्यालयको मुख्य प्रवेशद्वारमा ‘परी’ नामको रोबोर्ट राखिएको छ जसले अतिथिहरुलाई स्वागत गर्नेछ ।

मानिसहरूले सोधेका केही प्रश्नको जवाफ समेत दिन सक्ने ‘परी’ नामको रोबोट कार्यालयको गेटमा राखिएको हो । रोबोटको छातिमा राखिएको स्क्रिनमा लेखिएको छ– परम्परा झल्किने आधुनिकता टल्किने । यो रोबोट नेपालमै बनेको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button