कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक चैत २० गते बस्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक चैत २० गते बस्ने भएको छ । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार चैत २० मा केन्द्रीय कार्यसमिति बैठक बस्ने तय भएको छ ।
पार्टीको १४ औं महाधिवेशन कार्यतालिका प्रभावित भएकोले यसबारे छलफल गर्ने एजेन्डा छ । चैत १० गतेसम्म क्रियाशील सदस्यताको विवरण केन्द्रमा पठाइसक्नु पर्ने भए पनि ९ जिल्लाले क्रियाशील वितरणका काम सुरू नै गरेका छैनन् ।
सोमबार यसबारे छलफल गर्न सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारी बैठक राखेका थिए । उक्त बैठकमा क्रियाशील सदस्यताबारे अहिलेसम्म भएका प्रगति र समस्याबारे केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिका संयोजक रमेश लेखकले जानकारी गराएका थिए ।
लेखकका अनुसार ६८ जिल्लामा मात्रै क्रियाशील सदस्यता वितरण र नवीकरणका कामको विवरण इन्ट्री गर्ने काम भइरहेको छ। बाँकी जिल्लामा क्रियाशील वितरण गर्ने समयावधि थप गर्न लागिएको छ । २० गते बस्ने केन्द्रीय कार्यसमिति बैठकले केही समय थप गर्न सक्छ ।
कांग्रेसले भदौ ७ देखि महाधिवेशन गर्ने भनेको छ । क्रियाशील सदस्यता वितरणमा ढिलाइ हुँदा महाधिवेशन कार्यतालिका नै प्रभावित हुने भएको छ ।