ओलीले कम्युनिष्ट आन्दोलनलाई ध्वस्त पार्न लागेको खनाल-नेपाल समूहको निष्कर्ष

काठमाडौं । नेकपा एमालेको नेपाल– खनाल समूहले अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट आन्दोलनलाई ध्वस्त पार्न लागेको आरोप लगाएको छ ।
अध्यक्ष ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल र नेता भीम रावललाई निलम्बन गर्ने निर्णय गरेपछि नेपाल–खनाल पक्षले उक्त निर्णयको भर्त्सना गर्दै संयुक्त वक्तव्य जारी गरेको छ ।
मंगलबार कलंकीको मेधा पार्टी प्यालेसमा नेपाल–खनाल पक्षको स्थायी समिति बैठक बसेको थियो ।
‘नेपाली जनताले पाँच वर्षका लागि निर्वाचित गरेको प्रतिनिधि सभालाई अवैधानिक किसिमले विघटन गर्ने निर्णय बदर भएपछि उत्तेजित बन्नुभएका केपी शर्मा ओलीबाट राज्यका विभिन्न निकायलाई निकम्मा बनाउनुका साथै नेकपा एमाले विभाजित गरी कम्युनिस्ट आन्दोलनलाई ध्वस्त गर्ने षडयन्त्रपूर्ण काम भइरहेका छन्’, बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा प्रधानमन्त्री एवं अध्यक्ष ओलीद्वारा एकपछि अर्को गर्दै निरंकुश र स्वेच्छाचारी कार्य भइरहेको र राज्यसत्ताको दुरुपयोग गरेर तानाशाही लाद्ने दुष्प्रयास भइरहेको आरोप समेत लगाइएको छ ।
ओलीले माओवादी केन्द्रसँग आफैले गरेको सम्झौताविपरीत एकीकरणविरुद्ध लाग्ने मात्रै नभइ एमाले विभाजन गर्न लागेको आरोप विज्ञप्तिमा लगाइएको छ ।
माधव नेपाल, झलनाथ खनालसहित ११ जनाले संयुक्त विज्ञप्ति निकालेका हुन् । विज्ञप्तिबारे जानकारी दिँदै बैठकपछि नेता भीम रावलले पुनस्स्थापित एमालेलाई विभाजन गरी कम्युनिष्ट आन्दोलनलाई ध्वस्त गर्न षड्यन्त्र गरिरहेको टिप्पणी गरे ।


