सत्यमोहन जोशीको नाममा विद्यालय खोल्ने सरकारको तयारी

काठमाडौं । सरकारले संस्कृतिविद् तथा शताब्दी पुरुष सत्यमोहन जोशीको नाममा ‘सत्यमोहन जोशी माध्यमिक विद्यालय’ स्थापना गर्ने तयारी गरेको छ ।
मंगलबार जोशी निवासमा पुगेर शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले सरकारको तयारीबारे जानकारी गराएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीको चाहनाअनुसार जोशीको नाममा विद्यालय खोल्न शिक्षा मन्त्रालयले तयारी शुरु गरेको बताइएको छ ।
आगामी आर्थिक वर्षदेखि काम शुरु गर्ने गरी तयारी थालेको मन्त्री श्रेष्ठको भनाई छ । विद्यालयको लागि उपयुक्त स्थानको खोजी भइरहेको पनि उनले बताए ।
‘सत्यमोहन जोशी माध्यमिक विद्यालयलाई नमुना विद्यालयको रुपमा स्थापित गर्ने उद्देश्यका साथ काम गर्ने मन्त्री श्रेष्ठको भनाई । उनले विद्यालयको मुख्य द्वारमा जोशीको पूर्णकदको मूर्ति राखिने र त्यसको वरपर फूलबारी रहने बताए ।
संस्कृतिविद् जोशीले सरकारको योजनाप्रति खुसी व्यक्त गर्दै पिछडिएको वर्ग भएको स्थानमा विद्यालय बनाउन आग्रह गरे । ‘मैले कला, साहित्य, संस्कृति, इतिहासमा पुर्याएको योगदानको कदर गर्दै सरकारले हुलाक टिकट, सिक्का बनाएको देखेर गौरव महसुस भएको थियो,’ जोशीले भने, ‘विरलै मान्छेले सरकारले गरेको सम्मान जीवित हुँदा नै देख्न पाउँछन् । म त्यसमध्येमा पर्छु अब विद्यालय पनि देख्न पाउँछु भन्ने आशा छ ।’
ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले सरकारले जोशीलाई गरेको सम्मानले महानगरपालिकाको समेत शान बढेको बताए । ललितपुर महानगरपालिकाले जोशीको सम्मानमा पुलचोकदेखि ग्वार्कोसम्मको सडकलाई सत्यमोहन जोशी मार्ग नामाकरण गर्ने तयारी अन्तिम चरणमा पुगेको पनि महर्जनले बताए ।