आफ्नै नेतृत्वमा नयाँ सरकार गठन गर्ने काँग्रेसको निर्णय

काठमाडौं । नेपाली काँग्रेसले अब सरकारको नेतृत्व लिने निर्णय गरेको छ। पार्टी कार्यालय सानेपामा शुक्रबार साँझ बसेको केन्द्रीय कार्यसमिति बैठकले सरकारको नेतृत्व दाबी गर्दै प्रधानमन्त्री ओलीको राजीनामा माग गर्ने निर्णय गरेको छ।
प्रतिनिधिसभा पुनर्स्थापना भइसकेपछि लामो समय मौन बसेको कांग्रेसले अहिले सरकारमा दाबी गर्ने निर्णय लिएको हो।
पछिल्लो समय नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरकार गठनका लागि काँग्रेस सभापति शेरबहादुर देउवालाई भेट गरेर छलफल गर्दै आएका थिए।
माओवादी केन्द्रले कांग्रेससँग यसअघि पटक पटक सरकारको नेतृत्व गर्न प्रस्ताव गरे पनि सभापति देउवाले अवस्था परिपक्क नभएको बताउँदै आएका थिए।
वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरको दबाबपछि कांग्रेसले आज औपचारिक रुपमै सरकार बनाउने निर्णय गरेको बताइएको छ।