एमाले कर्णाली प्रदेशसभा संसदीय दलको बैठक: खनाल–नेपाल समूह पनि सहभागी

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशसभा संसदीय दलको बैठक शुरु भएको छ ।
बैठकमा नेकपा एमालेको केपी ओली पक्ष र माधव नेपाल झलनाथ खनाल पक्षका सांसदहरुको उपस्थिति रहेको छ । एमाले ब्युँतिएपछि पहिलो पटक दुवै समूहका सांसद एकै बैठकमा सहभागी भएका हुन् ।
यसअघि चैत ४ गते बसेको संसदीय दलको बैठकले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई दिइएको समर्थन फिर्ता लिएको घोषणा गरेको थियो । उक्त बैठकले गरेको निर्णयमा खनाल–नेपाल पक्षका सांसदहरूले भने सहमति जनाएका थिएनन् । उनीहरू बैठकमा सहभागीसमेत भएका थिएनन् ।
आजको बैठकमा संसद् आह्वान, सरकारलाई दिइएको समर्थन फिर्तालगायत विषयमा छलफल भइरहेको बताइएको छ । आजको बैठकमा सरकारमा रहेका मन्त्रीले राजीनामा दिने विषयमा पनि छलफल हुने स्रोतले जानकारी दिएको छ ।
कर्णाली प्रदेश सभामा नेकपा एमालेमा १९ जना सांसद (सभामुखबाहेक) ले नै मुख्यमन्त्रीलाई दिइएको समर्थन फिर्ता लिएको खण्डमा प्रदेश सरकार संकटमा पर्नेछ । त्यसपछि नयाँ सरकार निर्माणको विकल्प खोज्नु पर्नेछ ।
कर्णालीमा नेकपा एमालेको मात्र सरकार बनाउन भने सम्भव छैन । कर्णाली प्रदेशको माओवादी केन्द्र संसदीय दलले एमालेमा प्रवेश गरेका सांसद् धर्मराज रेग्मीलाई हटाइदिएपछि प्रदेश सभामा सांसदको संख्या ३९ भएको छ ।
३९ जना सांसदमध्ये पनि सरकार गठनका लागि २० जनाको बहुमत आवश्यक पर्छ । एमालेका एक जना सांसद सभामुख भएकाले एमालेका १९ जनामात्र सांसद हुनेछन् । प्रदेश सभामा नेपाली काँग्रेसका ६, राप्रपाका एक, माओवादी केन्द्रका १२ जना सांसद छन् ।