कर्णालीमा एमाले संसदीय दलको निर्णय: २४ घन्टाभित्र राजीनामा दिन आफ्ना मन्त्रीलाई निर्देशन

सुर्खेत । नेकपा एमालेको कर्णाली प्रदेश संसदीय दलले सरकारमा सहभागी आफ्ना दलका मन्त्रीहरूलाई २४ घण्टाभित्र राजीनामा दिन निर्देशन जारी गरेको छ ।
आइतबार बसेको एमाले कर्णाली प्रदेश संसदीय दलको बैठकले तीन जना मन्त्रीलाई २४ घन्टामा सरकारबाट राजीनामा दिन निर्देशन जारी गरेको हो ।
‘तीन जना मन्त्रीहरूलाई २४ घण्टामा राजीनामा दिन र नयाँ सरकार गठनको वातावरण बनाउन दलले निर्देशन दिएको छ । उक्त निर्देशन अनुसार तीनै जना मन्त्रीले भोलिसम्ममा राजीनामा दिने प्रतिवद्धता जनाएको एक सांसदले जानकारी दिए । आजको बैठकमा खनाल नेपाल पक्षका सांसदहरुकोसमेत उपस्थिति थियो ।
बैठकले २४ गते दिउँसो एक बजे संसदीय दलको अर्को बैठक बस्ने सहमति समेत गरेको छ ।
कर्णाली प्रदेश सभामा नेकपा एमालेका १९ जना सांसद ९सभामुखबाहेक० छन् । एमालेले सरकारबाट आफ्ना पक्षका मन्त्रीलाई फिर्ता हुन निर्देशन दिएसँगै प्रदेश सरकार संकटमा पर्ने देखिएको छ ।
कर्णालीमा नेकपा एमालेको मात्र सरकार बनाउन भने सम्भव छैन । कर्णाली प्रदेशको माओवादी केन्द्र संसदीय दलले एमालेमा प्रवेश गरेका सांसद् धर्मराज रेग्मीलाई हटाइदिएपछि प्रदेश सभामा सांसदको संख्या ३९ भएको छ ।
३९ जना सांसदमध्ये पनि सरकार गठनका लागि २० जनाको बहुमत आवश्यक पर्छ । एमालेका एक जना सांसद सभामुख भएकाले एमालेका १९ जनामात्र सांसद हुनेछन् । प्रदेश सभामा नेपाली काँग्रेसका ६, राप्रपाका एक, माओवादी केन्द्रका १२ जना सांसद छन् ।