वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका १२ जना नेपालीको शव स्वदेश ल्याइयो

आइतबार नेपाल एयरलाइन्सबाट एक साथ १२ शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइपु-याएको विमानस्थल कार्यालयले जनाएको छ ।
मलेसियामा ज्यान गुमाएका गोर्खाका मेघबहादुर कुँवर र सूर्य विक, महोत्तरीका देवेन्द्रकुमार यादव, नवलपरासीका नुमबहादुर लुंगेली मगर, सर्लाहीका चन्द्रकुमार साहको शव आइतबार विमानस्थल ल्याइएको हो ।
भोजपुरका भुपाल पाण्डे, पाँचथरका सूर्यबहादुर चौहान, सुनसरीका विष्णु राजधामी र महेन्द्रप्रसाद मेहता, बाग्लुङका चन्द्रबहादुर विक, बाँकेका विनय कहर र झापाका उज्वल भुजेलको शव पनि ल्याइएको छ ।
आफ्नो निर्वाचन क्षेत्रका दुई जनाको शव मलेसियाबाट ल्याइएपछि पूर्व प्रधानमन्त्री एवं जसपाका अध्यक्ष डा बाबुराम भट्टराई त्रिभुवन विमानस्थल पुगेका छन् ।
उनले वैदेशिक रोजगारीमा मलेसिया गएका १२ जना नेपाली युवाको शव एकैदिन आइपुगेको देख्दा र आफन्तहरुको भावविह्वल अवस्था देख्दा आँशु नथामिएको बताएका छन् ।
सामाजिक सञ्जालमा डा भट्टराईले लेखेका छन्,‘कस्तो दु:खद अवस्था ! बैदेशिक रोजगारीमा मलेशिया गएका नेपाली युवाहरूमध्ये १२जनाको शव एकैदिन त्रिभुवन विमानस्थल आइपुग्यो ! तीमध्ये गोरखा-२सिरानचोक-५का सूर्य विक (२८बर्ष) र गोरखा नपा-१२का मेघबहादुर कुॅवर(२७ बर्ष)को शव बुझ्न आएका आफन्तहरूको भावविह्वल अवस्था देख्दा कसरी आँसु थामिन्थ्यो र !’