दोब्बरको संख्याले बढ्न थाले कोरोना संक्रमित

काठमाडौं । पछिल्लो समय दैनिक कोरोना संक्रमित थपिने क्रम झन्डै दोब्बरले बढ्न थालेको छ । सोमबार मात्रै नेपालमा झन्डै दोब्बरको संख्यामा कोरोना संक्रमितहरु थपिएका छन् ।
देशभरका प्रयोगशालाहरुमा गरिएको परीक्षणका क्रममा गत २४ घण्टाको अवधिमा २ सय ६६ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमणको पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभरका प्रयोगशालामा ४ हजार ५३६ जनाको आरटी पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो ।
सोमबार थपिएका कोरोना संक्रमितको संख्या अघिल्लो तुलनामा झन्डै १०० ले बढी हो । अघिल्लो दिन (आइतबार) १ सय ७६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो ।
आइतबार पीसीआर परीक्षणको संख्या भने सोमबारको तुलनामा केही कम थियो । आइतबार देशभरका प्रयोगशालामा गरी ३ हजार ४ सय ५६ जनाको आरटी पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो ।
सोमबार थपिएका संक्रमितमध्ये अधिकांश काठमाडौं उपत्यकाका छन् । सोमबार काठमाडौं जिल्लाका ९८, ललितपुरका २६ र भक्तपुरका १३ गरी १ सय ३७ जनामा संक्रमण पुष्टि भएको हो ।
सोमबार काठमाडौं उपत्यका बाहिर सबैभन्दा बढी चितवनमा ३७ र कास्कीमा १९ जना संक्रमित थपिएका छन् ।
नेपालमा हालसम्म कोरोना संक्रमतिको संख्या २ लाख ७८ हजार २ सय १० पुगेको छ । संक्रमण देखिएकामध्ये २ लाख ७३ हजार ३ सय ४२ जना संक्रमण मुक्त भइसकेका छन् ।
कोरोना संक्रमणबाट हालसम्म ३ हजार ३६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
देशभर हालसम्म १ हजार ८ सय ३२ जना सक्रिया संक्रमित रहेका मन्त्रालयले जानकारी दिएको छ ।