सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन गर्दै मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन हुने भएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टले अबको एक–दुई दिनमै मन्त्रिपरिषद पुनर्गठन गर्न लागेका हुन् ।
नेकपा एमालेको (खनाल–नेपाल) समूहका मन्त्रीहरुलाई फिर्ता बोलाएर मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारी भइरहेको स्रोतले जानकारी दियो ।
मुख्यमन्त्री त्रिलोचन भट्ट निकट स्रोतका अनुसार नेकपा एमालेको खनाल–नेपाल समूहका सुदूरपश्चिम इञ्चार्ज भीम रावलले मन्त्रिपरिषद पुनर्गठनका लागि भावी मन्त्रीहरुको सूची समेत मुख्यमन्त्री भट्टलाई बुझाइ सकेका छन् ।
एमाले संसदीय दलका नेता समेत रहेका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाशबहादुर शाह, वन तथा वातावरण मन्त्री माया भट्ट र सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीलाई फिर्ता बोलाएर ४ जना एमाले र १ जना माओवादीका प्रदेशसभा सदस्यलाई मन्त्री बनाउनेगरी छलफल भइरहेको जनाइएको छ ।
‘रावलले एमालेका पूर्व सामाजिक विकास मन्त्री समेत रहेका प्रदेशसभा दीर्घ सोडारी, प्रदेशसभा सदस्य कुलविर चौधरी, पूर्णा जोशी, मनाकुमारी साउद र माओवादीका मानबहादुर धामीलाई मन्त्री बनाउदैछन्,” स्रोतले भन्यो, “एमालेकै प्रदेशसभा सदस्य चुनकुमारी चौधरीलाई राज्यमन्त्री बनाउने तयारी छ।”
तर कसलाई कुन मन्त्रालयको जिम्मेवारी दिने भन्ने विषयको भने टुङ्गो लागेको छैन । प्रदेशसभा सदस्य हर्कबहादुर कुँवरले भने मन्त्रिमण्डल विस्तारको विषयमा छलफल नभएको दावी गरे ।