मेलम्चीको पानी वाँड्न पुरानै प्रणाली टालटुल गरिने, काठमाडौंका सडक फेरि ध्वस्त हुने चिन्ता

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको पानी पुरानै प्रणालीमार्फत वितरण गरिँदा अहिले काठमाडौंका धेरै ठाउँका सडकमै पानी छताछुल्ल हुन थालेको छ ।
पुरानै प्रणालीबाट मेलम्चीको पानी वितरण गर्दा धेरै ठाउँमा पाइपहरु फुटेर सडकमा पानी छताछुल्ल हुन थालेको छ । मेलम्चीको पानी वितरणका लागि नयाँ पाइपलाइन विच्छ्याइए पनि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले भने पुरानै प्रणालीलाई टालटुल गरेर काम चलाउने भएको छ ।
नयाँ प्रणाली जडान गरी पानी वितरण गर्नुको सट्टा केयुकेएलले पुरानै प्रणालीलाई टालटुल गरेर काम चलाउनेतर्फ अग्रसरता देखाएको छ । पुरानो प्रणाली मर्मतका लागि भन्दै अब फेरि काठमाडौंका सडकहरु खनिने भएका छन् ।
मेलम्चीको पानी वितरण गर्न थालिएपछि काठमाडौंका ५० बढी ठाउँमा पाइप फुटेर पानी सडकमा छताछुल्ल भएको छ । अब ती ठाउँमा फुटेको पाइप टाल्न भन्दै काठमाडौं उपत्यका खानेपानी लिमिटेडले सडक खन्ने भएको छ ।
सडक खन्नका लागि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) र सडक विभागबीच सहमति भएको छ ।
केयूकेएलका प्रमुख कार्यकारी निर्देशक मिलन शाक्यले पानी वितरणको क्रममा पाइनलाइनबाट हुने गरेका चुहावटको नियन्त्रण तथा मर्मतका लागि सडक खन्नुपर्ने भएकाले सोको स्वीकृतिका लागि शुक्रबार केयूकेएल र सडक विभागबीच सहमति भएको जानकारी दिए ।
चुहावट नियन्त्रणका लागि सडक विभागले स्वीकृति दिएको बताउँदै उनले मर्मतका क्रममा खनिएको सडकलाई सडक विभागले मर्मत गर्ने बताए ।
उनले भने, ‘चुहावट नियन्त्रण तथा मर्मतका लागि मौजुदा सूची निर्माण भई निर्माण व्यसायीहरू तयारी अवस्थामा रहेका छन् । त्यसैगरी आवश्यक सामग्रीहरू समेत तयारी अवस्थामा रहेका छन् ।’
चुहावट तथा मर्मत निरीक्षणका लागि ‘र्यापिड रेस्पोन्स टिम’ केयूकेएलको हरेक शाखाबाट परिचालन गरिएको उनले बताए । उपत्यकामा रहेका केयूकेएलका नौवटा शाखाबाट नै ‘र्यापिड रेस्पोन्स टिम’ परिचालन गरिएको छ ।
शाक्यका अनुसार चैत १५ देखि पानी वितरण सुरु भएयता ३२० ठाउँमा चुहावट पत्ता लागेकोमा अहिलेसम्म १८६ ठाउँमा मर्मत कार्य सम्पन्न भइसकेको छ ।
बिहानदेखि साँझसम्म पानी वितरण तथा रातमा मर्मत कार्य भइरहेको शाक्यले बताए । अहिलेसम्म पत्ता लागेका मध्ये ५८ प्रतिशत चुहावटको नियन्त्रण तथा मर्मत कार्य सम्पन्न भइसकेको उनको दाबी छ ।
वितरण प्रणालीका पाइपलाइनहरू पुरानो भएको र भूकम्पले पनि पूरा वितरण प्रणालीलाई हल्लाइसकेको हुनाले प्रायः पाइप जोडिएको ठाउँमा चुहावट देखिएको निर्देशक शाक्यले बताए ।
अहिले काठमाडौं र ललितपुरमा चक्रपथभित्रका अधिकांश ठाउँमा पानी वितरण सुरु गरिएका धेरै ठाउँमा पानी पुगेको छ भने नपुगेका ठाउँमा कसरी पुर्याउन सकिन्छ भनी तयारीमा केयूकेएल जुटेको उनले बताए ।
अहिले आठ करोड लिटर पानी वितरणका लागि तयारी अवस्थामा राखिएको केयूकेएलले जनाएको छ । केयूकेएलले अहिले महाँकाल चौर, अनामनगर, मीनभवन, खुमलटार, पानीपोखरी, महाराजगञ्ज र बालाजु गरी सात पोखरीबाट पानी वितरण गरिरहेको छ । मेलम्ची आयोजनाबाट दैनिक १७ करोड लिटर पानी आउनेछ ।