नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोखरेल विजयी

काठमाडौं । नेपाल पत्रकार महासंघको नयाँ अध्यक्षमा विपुल पोखरेल निवार्चित भएका छन्।
आज सकिएको मतगणनामा प्रतिस्पर्धी उम्मेद्वार निर्मला शर्मा र गजेन्द्र बुढाथोकीलाई पछाडी पार्दै पोखरेलले अध्यक्षमा छ हजार नौ सय बयालीस भोटले विजयी भएका छन्।
पहिलोपटक प्रत्यक्ष प्रणालीबाट भएको निर्वाचनमा काँग्रेस निकट प्रेस युनियनले सिंगै विपुल प्यानलमा जित हासिल गरेको हो।
पत्रकार महासंघको अध्यक्षमा विपुलको जित भएको औपचारिक घोषणा भएसँगै प्रेस युनियनले उनलाई खादा र माला लगाइदिएर विजयोत्सव मनाइरहेको छ।
२५ गते भएको चुनावबाट वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, महिला उपाध्यक्षमा बाला अधिकारी, समावेशी उपाध्यक्षमा उदय जीएम, महासचिवमा रोशन पुरी निर्वाचित भएका छन्। यस्तै, सचिवमा गोविन्द चौलागाईँ, सृजना अर्याल, नारायण सुन्दर किलम्बु, दीपेन्द्र चौहान, हेमकर्ण बिक र पवन आचार्य विजयी भएका छन्।
कोषाध्यक्षमा कलेन्द्र सेजुवाल र लेखा समिति संयोजकमा लेखनाथ न्यौपाने विजयी भएका छन्।
महासंघको चुनावमा नेपाली कांग्रेस निकट प्रेस युनियन नेपाल, नेकपा माओवादी केन्द्र निकट प्रेस संगठन नेपाल र नेकपा एमालेको माधव नेपाल समूह निकट प्रेस चौतारी सहित ११ सङ्गठनको मोर्चा बनेको थियो ।
अध्यक्षमा नेकपा एमालेको ओली समूह निकट प्रेस चौतारी, जनता समाजवादी निकट प्रेस मञ्च, विप्लव निकट जनपत्रकार संघ लगायतको प्यानलबाट निर्मला शर्माको उम्मेदवारी थियो । त्यसबाहेक गजेन्द्र बुढाथोकीले पनि अध्यक्षमा उम्मेदवारी दिएका थिए ।