स्कुल/कलेज ३ हप्ताका लागि बन्द गर्न सीसीएमसीको प्रस्ताव

काठमाडौं । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कोरोनाको दोश्रो चरणको नियन्त्रणका लागि स्वास्थ्य मापदण्डमा कडाइ गर्ने निर्णय गरेको छ ।
सिंहदरबारमा शनिबार बसेको सीसीएमसी बैठकले अहिलेको कोरोनाको अवस्थामा छलफल गर्दै स्वास्थ्य सावधानीका साथै मापदण्डमा कडाई गर्ने निर्णय गरेको हो । बैठकपछि मन्त्रिपरिषद् कार्यालयका सचिव खगराज बरालले निगरानी सतर्कताका बिषयमा जोड दिदै स्वास्थ्य मापदण्डमा कडाई गर्न अपिल गर्ने निर्णय भएको बताए ।
त्यस्तै कोरोना नियन्त्रणमा जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रलाई थप सक्रिय बनाउने निर्णय भएको उनले बताए । उनले अहिले नै कुनै कडा कदम चाल्ने अवस्था नरहेको उल्लेख गरे ।
उनले विद्यालय र रात्रीकालीन लगायतका केही क्षेत्र बन्द गर्ने चर्चा चलेपछि मापदण्ड पालना गराउने बिषय नै प्रमुख भएको बताए । बैठकले कोरोना फैलन नदिन नाका–नाकामा थप सतर्कता अपनाउनुपर्नेमा जोड दिएको छ ।
यस्ता छन् बैठकका प्रस्तावहरु-
-सार्वजनिक तथा निजी निकायका प्रमुखले आफ्नो तथा अन्तर्गत कार्यालयहरूमा जनस्वास्थ्यका मापदण्डको पूर्ण रूपमा पालना गर्ने गराउने प्रस्ताव।
-विदेशबाट फर्केपछि घरमा क्वारेन्टिन बसेका र संक्रमित भएर घरमै आइसोलेसनमा रहेकाले सो सम्बन्धी मापदण्ड पालना गर्न प्रेरित गर्ने र आवश्यक निगरानीका लागि सबै पालिकाहरूले स्थानीय तहमा निगरानी वा अनुगमन समिति बनाई नियमित अनुगमन र निगरानी गरी सो को विवरण डीसीसीएमसी मार्फत सीसीएमसीमा पठाउने।
-सार्वजनिक यातायातमा यात्रा गर्दा मास्क प्रयोग अनिवार्य गरी जनस्वास्थ्यका अन्य मापदण्ड समेत पालना गर्ने।
-सिट सङ्ख्याका अनुपातमा यात्रुको सङ्ख्या सीमित रहने गरी यात्राको व्यवस्था गर्ने। सो को नियमित अनुगमन यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरीबाट गर्न लगाउने।
-रात्रीकालीन डान्सवार, नाइट क्लब, दोहरी साँझ जस्ता धेरै भीडभाड हुने क्रियाकलापहरू राति १० बजेपछी बन्द गर्ने र सो को अनुगमन डीसीसीएमसीले गर्ने।
-सङ्क्रमणको अवस्था हेरी महानगरपालिकाहरूमा ५००, उप महानगरपालिकामा ३००, नगरपालिकामा २००, गाँउपालिकाहरूमा १०० वा सो भन्दा बढी सक्रिय सङ्क्रमित भएमा सम्बन्धित पालिकाहरूको समन्वयमा नियन्त्रित आवागमन गर्ने व्यवस्था डीसीसीएमसीले मिलाउने र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको समन्वयमा सम्बन्धित पालिकाले टेस्टिङ, क्वारेन्टिन र आइसोलेसन लगायतका व्यवस्था मिलाउने।
-कोभिड–१९ को कारण विदेशमा मृत्यु भएका नेपाली नागरिकको शव शदगतका लागि नेपाल ल्याउनै पर्ने भए सम्बन्धित देशले दिएको अनुमतिका आधारमा नेपाल ल्याई शदगत गर्न दिने।
-जनस्वास्थ्य मापदण्डको आमरूपमा पालना भए-नभएको नियमित अनुगमन गर्नका लागि प्रत्येक जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा स्वास्थ्य कार्यालय, सबै सुरक्षा निकायहरू र शिक्षा विकास तथा समन्वय एकाइका प्रतिनिधि रहेको अनुगमन समिति गठन गरी नियमित अनुगमनको कार्य गर्ने।
-हाल सञ्चालनमा रहेका सबै आन्तरिक विमानस्थलहरूमा जिल्ला स्वास्थ्य कार्यालयको समन्वयमा अनिवार्य हेल्थ डेस्क स्थापना गरी यात्रुको चेकजाँच गर्ने व्यवस्था मिलाउने।
-स्थलमार्गबाट नेपाल प्रवेश गर्न तोकिएका नाकाहरूमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको समन्वयमा प्रदेश सरकार र स्थानीय तहले अनिवार्य रूपमा हेल्थ डेस्क स्थापना गरी स्वास्थ्य जाँचको प्रबन्ध मिलाउने।