कोरोना महामारी शुरू भएयता पोल्ट्री क्षेत्रमा ३५ अर्बको नोक्सान

काठमाडौं । गतवर्ष नेपालमा कोरोना महामारी शुरू भएयता १ वर्षको अवधिमा पोल्ट्री क्षेत्रमा ३५ अर्ब रुपैयाँ बराबरको नोक्सानी भएको छ ।

नेपाल पोल्ट्री व्यवसायी महासंघका अनुसार महामारीका कारण होटेल, रेस्टुराँ, पार्टी प्यालेसजस्ता ठूलो परिमाणमा मासु खपत हुने स्थानहरू लामो समयसम्म बन्द हुँदा खपतको मात्रा घट्न गई नोक्सानी बढेको खबर आर्थिक अभियान दैनिकमा छ ।

करीब ६ महीना लामो बन्दाबन्दीका समयमा पोल्ट्री क्षेत्रले दैनिक २१ करोड ९५ लाख रुपैयाँ नोक्सानी बेहोर्नु परेकाले क्षतिको मात्रा बढेको हो ।

त्यस बेला नयाँ उत्पादन हुने चल्लामा दैनिक ३ करोड ४५ लाख रुपैयाँ, ब्रोइलर तयारी कुखुरामा १५ करोड रुपैयाँ, अण्डामा ३ करोड रुपैयाँ र पोल्ट्रीसम्बन्धी दानाको कच्चा पदार्थ आदिमा ५० लाख रुपैयाँको नोक्सानी हुँदै आएको थियो ।

यसरी वर्षभरिको सम्पूर्ण क्षतिको विवरण निकाल्दा करीब ३५ अर्ब रुपैयाँको हाराहारीमा क्षति भएको अनुमान गरिएको पोल्ट्री व्यवसायी महासंघका अध्यक्ष गुणचन्द्र विष्टले आर्थिक अभियान दैनिकलाई जानकारी दिए ।

उनका अनुसार ह्याचरी उद्योग संघले ६ महीना लामो बन्दाबन्दीमा दैनिक करीब ६ लाख चल्ला नष्ट गर्नुप¥यो । बन्दाबन्दीको अवधिभर यो क्रम चलिरह्यो । उक्त अवधिमा कुखुरापालक किसानले ४० लाख ओटा तयारी कुखुरा गाड्नु परेको थियो भने त्यत्तिकै मात्रामा अण्डा पनि कुहिएर खेर गएको थियो ।

सबैभन्दा बढी नोक्सानी बेहोर्नेमा ह्याचरी उद्योग रहेको छ भने त्यसपछि कुखुरापालक किसान र अण्डा उत्पादक किसानले बढी नोक्सानी बेहोरेका छन् । किसान सँगसँगै नोक्सानी बेर्होनेमा कोल्ड स्टोर सेन्टर र भ्याक्सीन तथा औषधि विक्रेताहरू पनि रहेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button