वि.सं. २०७७ मा उल्लेख्य विकास– प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ सालमा मुलुकको आर्थिक सामाजिक विकासका साथसाथै भौतिक विकास निर्माणका कार्यमा समेत सरकारले उल्लेख्य सफलता हासिल गरेको जनाएका छन् ।

उनले कोभिड–१९ को महामारीबीच वर्ष २०७७ मा विकास निर्माणका काममा ऐतिहासिक सफलता हासिल गरेर सो वर्षलाई निरर्थक हुन नदिएको दाबी गरेका छन् ।

प्रधानमन्त्री ओलीले नयाँ वर्ष २०७८ को पहिलो दिन बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को पुनर्निर्मित कार्यालयबाट देशका नाममा सम्बोधन गर्दै काठमाडौंवासीको दसकौंदेखिको सपना पूरा गरिएको र नयाँ-नयाँ विकासका काम पूरा गरिएको र त्यो क्रम जारी रहेको स्पष्ट पारे । उनले वर्षौदेखि काठमाडौंवासीको सपनाका रूपमा रहेको मेलम्ची खानेपानीलाई सकार पारिएको बताए ।

प्रधानमन्त्री ओलीले मुलुकको विकास र समृद्धिका लागि आमनागरिकमा आशा जगाउनुपर्ने आवश्यकता औंल्याउँदै सरकारले विकासको ढोका खोलेर नागरिकमा आशा जगाएको बताए ।

प्रधानमन्त्री ओलीले सरकार कोभिडको महामारीका बेलामा सकेसम्म बन्दाबन्दी गर्ने पक्षमा नभएको स्पष्ट पारे । उनले सरकारले बन्दाबन्दी गर्ने धम्की दिएको भन्ने कुरा बाहिर आएको तर आफूहरूले कहिल्यै कसैलाई धम्की नदिएको तर आमनागरिकसँग कोभिडबाट बच्न आवश्यक अपिल गरिएको बताए ।

प्रधानमन्त्री ओलीले कतिपय राष्ट्रले कोभिडको महामारी बढी फैलिएको हुनाले बन्दाबन्दी गर्न बाध्य भएको र जनताको सुरक्षाका लागि नेपाल सरकार गम्भीर रहेको समेत जनाए । उनले हालसम्म १८ लाख बढीलाई कोभिडको भ्याक्सिन लगाइएको जानकारी दिए ।

उनले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौतालाई बारम्बार संसद्मा निर्णयार्थ प्रस्तुत गर्न माग गरे पनि रोकिएको भन्दै असन्तुष्टि पोखे ।

सरकारले टेबल गरेको एमसीसी सम्झौता निर्णयार्थ प्रस्तुत नगरेर संविधान नमानिरहेको अवस्था सरकारले झेलिरहेको भन्दै उनले एमसीसी मुलुकको हितमा रहेको बताए ।

प्रधानमन्त्री ओलीले एमसीसी नेपाली कांग्रेस र नेकपा माओवादी सरकारमा हुँदा सम्झौता गरिएको उल्लेख गर्दै त्यो संसद्मा टेबल गरे पनि निर्णयार्थ प्रस्तुत नभएको भन्दै संविधान नमान्ने जिद्दी गर्ने प्रवृत्ति आफूहरूले झेलिरहेको जनाए । विस्तृत समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button