‘अविश्वासको प्रस्ताव प्रतिगामी कदम, सामना गरेर जान्छौं’ : मुख्यमन्त्री गुरुङ

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आफूविरुद्ध विपक्षीले दर्ता गरेको अविश्वासको प्रस्तावलाई ‘प्रतिगामी कदम’ भएको बताएका छन् ।

विपक्षी दलले बिहीबार संसद सचिवालयमा अविश्वास प्रस्ताव दर्ता भएपछि मुख्यमन्त्री गुरुङले त्यसको सामना गर्ने समेत बताएका छन् ।

वामपन्थीको एक्लो सरकार गैरवामपन्थीलाई सुम्पिएर माओवादी र जनता समाजवादी पार्टीसमेत मिलेर जसरी प्रतिगामी कदम चालेको मुख्यमन्त्री गुरुङको भनाई छ ।

‘गैरवामपन्थी सरकार बनाउन स्वयम् वामपन्थी लागि पर्नु प्रतिगामी कदम हो। समयले, जनताले सही मूल्याङ्कन गर्ने नै छ। अहिले हामी अविश्वासको प्रस्ताव सामना गरेर जान्छौं,’ उनले भने।

मुलुकलाई अस्थिरतातर्फ लैजान, संघीयता कार्यान्वयनमा बाधा हाल्न र समृद्धिको अभियानलाई अवरुद्ध पार्न अविश्वास प्रस्ताव आएको उनले बताए । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकार गिराउने आफ्नो दायित्व निर्वाह गरेको गुरुङले बताए ।

‘अविश्वासको प्रस्ताव पास हुनुपर्‍यो नि,’ उनले भने, ‘राष्ट्रिय जनमोर्चाले समर्थन गर्छ कि गर्दैन हामीलाई थाहा छ।’ स्थिर सरकारका लागि आफूले नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र जनमोर्चासँग निरन्तर छलफल गरिरहेको समेत उनको भनाई छ । यसका बाबजुद जालझेल र षडयन्त्र गरेर जसरी पनि आफूलाई हटाउन विपक्षी दलहरू लागेको उनले आरोप लगाएका छन् ।

‘लंका जलाउने हनुमान, पगरी गुथ्ने ढेडु भने जस्तो, काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर गइराखेका छन्। मैले संवाद गरिराखेको छु। कसलाई के को चिन्ता, कसलाई खानकै चिन्ता भने जस्तो उहाँहरूको उद्देश्य अर्कै देखियो,’ उनले भने।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button