कर्णाली प्रदेश : मुख्यमन्त्रीविरुद्ध मतदान गर्न एमालेले व्हीप जारी गर्ने

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज प्रदेश सभा बैठकमा अविश्वास प्रस्तावको सामना गर्दैछन । मुख्यमन्त्रीविरुद्ध मतदान गर्न एमाले कर्णाली संसदीय दलले व्हीप जारी गरेको छ ।

संसदीय दलको बैठक अहिले सुर्खेतमा जारी छ । बैठकले मुख्यमन्त्रीविरुद्ध व्हीप जारी गर्ने निर्णय गरेको एक नेताले बताए । उनले भने, ‘हाामी बैठक बस्दैछौं, मुख्यमन्त्रीविरुद्ध मतदान गर्न व्हीप जारी भयो भन्ने बुझ्नुस ।’

गत चैत ५ गते नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने कानूनी बाध्यताका कारण आज विश्वासको मत लिन लागेका हुन्।

आज सुरु हुने प्रदेशसभाको सातौँ अधिवेशनमा मुख्यमन्त्री शाहीले विश्वासको मत लिन लागेका हुन् ।

आज दिउँसो २ बजे बस्ने प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत पहिलो बैठकमा सरकारले दुईवटा अध्यादेश टेबल गर्ने र विश्वासको मतसम्बन्धी प्रक्रिया अघि बढ्ने प्रदेशसभा सचिवालयले जनाएको छ।

माओवादीको बिहीबार बसेको संसदीय दलको बैठकले प्रदेशसभामा विश्वासको मत लिने र यसका लागि सबै दलहरुलाई विश्वासको मत दिन अपिल गर्ने निर्णय गरेको थियो। ३९ जना सदस्य रहेको कर्णाली प्रदेशसभामा बहुमतका लागि २० जनाको समर्थन आवश्यक पर्छ ।

प्रदेशसभामा माओवादीका १२ जना सांसद छन्। कांग्रेसका ६ जना र राप्रपाका एकजना सांसद रहेका छन । त्यस्तै एमालेका सभामुखसहित २० जना सांसद रहेका छन्।

मुख्यमन्त्रीलाई अहिले १९ जना सांसदको समर्थन रहने देखिन्छ। तर माओवादीले एमालेका असन्तुष्ट समूहका सांसदहरुले फ्लोर क्रस गरेर विश्वासको मत दिने अपेक्षा गरेको छ।

एमालेले भने मुख्यमन्त्रीले आज विश्वासको मत पाउन नसक्ने र आफ्नो नेतृत्वमा भोलि वा पर्सिमा नयाँ सरकार बन्ने अपेक्षा लिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button