पत्रकारमाथि भएको धरपकडप्रति महासंघको काठमाडौं शाखाको आपत्ति

काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सदस्य तथा उज्यालो नेटवर्क प्रा.लि.का सञ्चालक तथा प्रधानसम्पादक बुद्ध लोप्चन तामाङ र कार्यकारी सम्पादक अनिश तामाङ लगायतका सञ्चारकर्मीलाई प्रहरीले पक्राउ गर्ने उद्देश्यले खोजीनीति गर्नुका साथै कार्यालयमा पुगेर धरपकड तथा मानसिक दवाव दिएपछि उक्त अनलाइनको कार्यालय बन्द भएको घटनाप्रति नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

शाखाका अध्यक्ष शन्तराम बिडारीले विज्ञप्ति जारी गरी उक्त अनलाइनले गोप्य स्रोतबाट आफूलाई प्राप्त एक कागजातका आधारमा प्रकाशित गरेको समाचारलाई आधार बनाएर सरकारी पक्षबाट सञ्चारमाध्यम तथा सञ्चारकर्मीहरुलाई धरपकड तथा मानसिक याताना दिनु स्वतन्त्र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मर्म विपरित भएको बताएका हुन् ।

सञ्चार क्षेत्र र सरकारबीच सेतुको रुपमा काम गर्दै मर्यादित र निष्पक्ष पत्रकारिताको लागि वातावरण निर्माण गर्न क्रियाशिल अर्ध न्यायिक निकाय प्रेस काउन्सिल नेपाल यो प्रकरणमा सक्रिय भैरहँदा र उसले छानविन अघि बढासकेको सन्दर्भमा प्रहरीका सबै कदम र कारवाहीहरु विनाशर्त फिर्ता गर्न पत्रकार महासंघ काठमाडौं शाखाले सरकार समक्ष माग गरेको छ ।

साथै प्रकाशित समाचारको विषयलाई लिएर नेपाल प्रहरीले पत्रकार महासंघका नवनिर्वाचित केन्द्रीय सदस्य साशुदेव शर्मा ‘बविन’को घर तथा कार्यालयमा खानतलासी गर्दै धम्की दिएको घटनाप्रति पनि नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button