सञ्चारगृह माथि प्रहरीको धरपकडप्रति पत्रकार महासंघ उपत्यका प्रदेश समितिको आपत्ति

नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिले पत्रकारलाई पक्राउ गर्ने उद्देश्यले प्रहरीले गरेको खोजीनीतिप्रति विज्ञप्ति जारी गरेर ध्यानाकर्षण गरेको छ ।
विज्ञप्तिमा ‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय रिसर्च एन्ड एनालाइसीस विङ्स` रअ ´ का प्रमुख सामन्त गोयलबीच चार बुंदे सहमति भएको भनी प्रकाशित समाचारलाई लिएर उज्यालो नेटवर्क प्रालिका सञ्चालक तथा प्रधान सम्पादक बुद्ध लोप्चन, कार्यकारी सम्पादक अनिश तामाङलगायत सञ्चारकर्मीलाई प्रहरीले पक्राउ गर्ने उद्देश्यसहित खोजीनीति गरेको विषयमा नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिको ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।
त्यस्तै प्रहरीले कार्यालयमा नै आएर धरपकड तथा खोजतलास गरेपछि उज्यालो नेटवर्क कार्यालय बन्द भएकोमा प्रदेश समिति चिन्तित छ, विज्ञप्तिमा लेखिएको छ ।
व्यावसायिक पत्रकारिता, नागरिकको सूचना पाउने अधिकारलाई वञ्चित गरी प्रहरी प्रशासनले एउटा मिडिया हाउस नै बन्द हुनेगरी गरेको कार्यले पत्रकारिताको गरिमामा गम्भीर प्रहार मात्र नगरी संविधानले प्रेसलाई दिइएको अधिकारमाथिकै हनन् भएको उपत्यका समितिको ठहर भएको विज्ञप्तिमा उल्लेख छ ।