कीर्ते गरेर डाक्टर बन्ने ७ जना पक्राउ

काठमाडौं । नक्कली प्रमाणपत्र पेश गरेर चिकित्सक बनेको आशंकामा ७ जना डाक्टर पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सात जना नक्कली चिकित्सकलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुलाई सोमबार सीआईबीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ।

सप्तरीको बिष्णुपुरा गाउँपालिका–२ का २८ वर्षीय मोहम्मद सिद्दिक, महोत्तरी सरपल्लो–६ का २९ वर्षीय सुभाष प्रसाद साह, धनुषा सबैला–२ का २८ वर्षीय मोहम्मद साहिद राजा, मनाङको साविक चामे गाविस–५ का ३१ वर्षीय दिपेन्द्र गौतम, सप्तरीको शंकरपुरा–१ का ३१ वर्षीय अखिलेशकुमार देव, महोत्तरीको मनरा–५ की २७ वर्षीया पल्लवी सिंह र ललितपुर सानेपाका २९ वर्षीय फराज हुसेन खाँ लाई पक्राउ गरेर प्रहरीले सार्वजनिक गरेको हो ।

उनीहरुलाई प्रहरीले फरक–फरक स्थानबाट पक्राउ गरेको हो। उनीहरुलाई विभिन्न स्थानबाट पक्राउ गरेर काठमाडौं ल्याइएको सीआईबीले जनाएको छ।

आरोपीहरुले बंगलादेशमा मेडिकल शिक्षा अध्ययनका लागि एसएलसीको मार्कसिटमा आवश्यक न्यूनतम योग्यता नपुग्ने भएपछि नाम, जन्ममिति, प्राप्तांकलगायतका विवरण सच्याएर मेडिकल काउन्सिलबाट प्रमाणपत्र लिएको अनुसन्धानबाट खुलेको सिआईबीले जनाएको छ ।

यसैबीच, डाक्टरलाई नक्कली प्रमाण पत्र बनाइदिएको आरोपमा बागबजारको ज्योतिदिप कन्सल्टेन्सीका अरुण चौधरी पक्राउ परेका छन् ।

नक्कली प्रमाण पत्रको आधारमा डाक्टर बनेका ७ जनालाई पक्राउ गरी अनुसन्धान गर्ने क्रममा चौधरीको नाम खुलेको थियो । त्यसपछि उनलाई सोमबार पक्राउ गरिएको हो ।

अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार पक्राउ परेका दीर्घायू गुरु हस्पिटल, चाबहिलका डाक्टर मोहम्मद शाहिद राजाले चौधरीबाट एसएलसीको प्रमाण पत्र कीर्ते गरेको बताएका थिए ।

अन्य डाक्टरहरुको कसरी कीर्ते प्रमाण पत्र तयार भयो भन्ने विषयमा अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button