प्रतिगमनका विरुद्धको अभियानमा लामवद्ध हुन सबै कम्युनिष्टहरुलाई एक हुन प्रचण्डको आह्वान

प्रचण्डद्वारा हस्ताक्षरित शुभकामना सन्देशमा भनिएको छ, ‘विश्व सर्वहारा वर्गका महान् नेता कमरेड भी.आई. लेनिनको जन्म जयन्ती तथा नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा नेपाली मुक्तिकामी जनसमुदाय तथा विश्व सर्वहारावर्गमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । यस अवसरमा मुक्तिकामी आन्दोलनमा शहादत प्राप्त गर्नुहुने महान् सहिदहरुमा श्रद्धाञ्जली, बेपत्ता योद्धाहरुमा सम्मान र घाइते योद्धाहरुमा स्वास्थ्यलाभको कामना गर्दछु ।’
नेपाली कम्युनिष्ट आन्दोलन वि.सं. २००६ सालदेखि वर्ग–संघर्ष र वैचारिक संघर्षको आरोह–अवरोह पार गर्दै यहाँसम्म आइपुगेको स्मरण गर्दै लेनिनको जन्म दिन पारेर स्थापना भएको नेपाल कम्युनिष्ट पार्टी आन्तरिक पार्टी जीवनका विभिन्न प्रवृत्तिहरु विरुद्ध लड्दै र खारिँदै सिंगो राष्ट्रलाई नै समाजवादको लक्ष्यमा लामवद्ध गराउन सक्षम साबित भएको प्रचण्डको शुभकामना सन्देशमा उल्लेख छ ।
कम्युनिष्ट आन्दोलनमा चल्ने अन्तरसंघर्षले विभिन्न समयमा पार्टी भित्रका विकृति–विसंगतिलाई संघर्षको माध्यमद्वारा किनारा लगाउने गरेको नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको तर्क छ । शुभकामना सन्देशमा अगाडी भनिएको छ, ‘ती विकृति गैरकम्युनिष्ट पश्चगामी प्रवृतिका रुपमा मूलप्रवाहबाट बाहिरिने गरेका छन् । यसको पछिल्लो कडीका रुपमा घोर प्रतिगामी प्रवृति देखापरेको छ ।’
सम्पूर्ण राष्ट्रवादी, परिवर्तनकामी र अग्रगामी शक्तिहरुको एकतावद्ध पहलकदमीबाट प्रतिक्रियावादीहरुको प्रतिगामी कदमलाई परास्त गर्न सकिने विश्वस प्रचण्डले लिएका छन ।
पार्टी स्थापना दिवस र लेनिन जयन्तीको ऐतिहासिक अवसरमा सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारीहरु र वामपन्थी प्रगतिशील शक्तिहरुलाई एकतावद्ध हुँदै प्रतिगमनका विरुद्धको अभियानमा लामवद्ध हुन प्रचण्डले अपील गरेका छन ।
