सिसाघाटका कुमाल भिडेरै चितुवा समाउन सफल

तनहुँ । तनहुँको व्यास नगरपालिका–६ सिसाघाटका मदन कुमाल बुधबार बिहान गोठालो जाँदै थिए । घरबाट भैँसी र गोरु लिएर आउँदै गर्दा छिमेकी एक महिलाको आवाज सुनियो । दाई मलाई बचाउनु, चितुवाले आक्रमण गर्‍याे ।

मदन कुमाल दौडिँदै गएर हेर्दा ती महिलाको गोठमा चितुवा आएको रहेछ । भैँसीलाई आक्रमण गर्न नसकेपछि चितुवाले महिलामाथि आक्रमण गर्न खोज्दै थियो । कुमाल त्यहाँ पुग्ने बित्तिकै चितुवा कुमालमाथि नै जाइलाग्यो ।

चितुवामाथि एक्लै भिडेका कुमालले चितुवाको खुट्टा समात्न पुगे, अनि लगत्तै टाउको पनि । दुई मिनेट जति चितुवासँग भिड्दै गर्दा हल्लाखल्ला भएपछि उनका भाइ भेषबहादुर पनि घटनास्थल पुगे ।

कुमालले भाइसँग मिलेर चितुवालाई नियन्त्रणमा लिए । हल्लाखल्ला भएपछि गाउँले जम्मा हुन थाले ।

अन्य केही व्यक्तिको सहयोगमा चितुवालाई बाध्न सफल भइएको कुमालले बताए ।
‘शुरुमा चितुवा देख्ने वित्तिकै डर लाग्यो तर चितुवा आफैमाथि जाइलागेपछि आफू बच्नका लागि भएपनि प्रतिरोध गर्नुपर्ने अवस्था आइलाग्यो’, कुमालले भने ।

करिब दुई मिनेट जति चितुवासँग घम्साघम्सी भयो । कुमालका अनुसार चितुवा बुढो भएका कारण पनि नियन्त्रणमा लिन सहज भएको थियो । उनले भने – चितुवा बुढो बुढो रहेछ, त्यसलाई बाँधेर राखेपछि प्रहरीलाई खबर गरियो ।

चितुवा नियन्त्रणमा आइसकेपछि चितुवा हेर्न स्थानीयवासीको भीड लागेको छ । डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले चितुवा नियन्त्रणमा लिइएकोबारे जानकारी आएकाले टोली त्यसतर्फ जान लागेको जानकारी दिए ।

तनहुँमा केही समय यता चितुवाको आतङ्क छ । जङ्गलमा आहारा नभएपछि चितुवा मानववस्ती छेउ आउने गरेको छ । विगत दुई वर्षको अवधिमा तनहुँमा १० जना बालबालिकाले चितुवाको आक्रमणबाट ज्यान गुमाएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button