जेठ ६ गते राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचन

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभातर्फ रिक्त एक सदस्यको पदमा ६ जेठमा उपनिर्वाचन गर्ने भएको छ । आयोगको सिफारिसमा सरकारले उपनिर्वाचनको मिति तोकेपछि आयोगले राष्ट्रिय सभातर्फ रिक्त सदस्यको उपनिर्वाचनको तयारी अघि बढाएको हो ।

आयोगका अनुसार नेकपा माओवादी केन्द्रकातर्फबाट राष्ट्रिय सभामा बाग्मती प्रदेशबाट सदस्य निर्वाचित रामबहादुर थापा बादलको रिक्त स्थानमा उपनिर्वाचन हुनेछ । रिक्त पद पूर्तिका लागि राष्ट्रियसभा निर्वाचन ऐन २०७५ को दफा ५ बमोजिम निर्वाचन हुने आयोगले जनाएको छ ।

आयोगले बिहीबार एक विज्ञप्ति जारी गर्दै ६ वैशाखमा नेपाल सरकारको निर्णयबाट राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनको मिति घोषणा भएको बताएको हो । राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन २०७५ को दफा ६१ ले कुनै सदस्यको पदावधि ६ महिनाभन्दा बढी कायम रहँदै कुनै कारणले निजको पदरिक्त भएमा ३५ दिनभित्र सरकारले तोकेको मितिमा बाँकी अवधिका लागि उपनिर्वाचन गरिसक्नुपर्ने व्यवस्था छ ।

बाग्मती प्रदेशबाट निर्वाचित राष्ट्रिय सभा सदस्य थापालाई माओवादी केन्द्रले कारबाही गरेपछि पद रिक्त भएको थियो । थापा हाल नेकपा एमालेको बाग्मती प्रदेश इन्चार्जको भूमिकामा छन् ।

उपनिर्वाचनको मिति तय भएसँगै आयोगले दल दर्ता गर्ने समयावधि पनि तोकेको छ । जसअनुसार १० देखि १४ वैशाखसम्म दल दर्ताको समय निर्धारण गरिएको र उपनिर्वाचनमा भाग लिन चाहने दलले निर्वाचन प्रयोजनका लागि आयोगमा दल दर्ताको निवेदन दिन सक्ने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिएका हुन् ।

आयोगले नेपालको संविधानको धारा २६९ बमोजिम आयोगमा दर्ता कायम रहेका राजनीतिक दललाई निर्वाचन प्रयोजनका लागि नेपालको संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि कार्यालय समयभित्र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को अनुसूची–१२ बमोजिमको ढाँचामा दल दर्ताका लागि निवेदन दिन सकिने भनेको छ । विस्तृत समाचार आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button