कहिले बिसाउलान गरिबले पीडाको भारी !

चर्चित लोक गायक विष्णु खत्री र बिमाकुमारी दुराले स्वर दिनु भएको ‘भरिया दाइले बिसाउने भारी, सुन माया डाँडैको चौतारी…’ गीतको हृदयस्पर्शी भाव मनमा आएपछि यो भावमा पंतिकारले कलम अघि सारेको हुँ।

यो गितको छायांकनमा जसरी सत्य घटनामा आधारित कहालीलाग्दा तस्बिरहरु राखिएका छन्। त्यसैगरी शब्द संयोजनमा सत्य घटनामा आधारित रहेर मजदुरका पीडा झल्किने गरी प्रस्तुती गरिएको छ।

छायांकनमा नाम्लोको सहारामा जीवन धानिरहेका भारी बोक्दै गरेका तस्बिर, निस्किरहेको पसिना, हातमा लौरो टेक्दै कम्मरमा फेटो कसेर भारी बोक्दै वृद्ध मानिस लड्दै गरेका तस्बिर, अगाडि घोडामा हिँडिरहेका मालिक र पछाडि लहरै भारी बोकिरहेका मजदुरका तस्बिर, थकान मेट्न चौतारीको बसाइ लगायत अभाव झल्किने तस्बिर कैद गरिएका छन्।

गीतमा धनी र गरिब बीचको खाडल, मालिक र दास, गरिबलाई सडकपेटी र मालिकलाई महल, बुढेसकालको सहारा रसी र नाम्लो, धनीसाहुका छोराछोरी विद्यालय जानु र गरिबलाई के लाउने के खाने पिर हुनु, जीवनभरि मरीमरी काम गर्दा पनि कहिले दिन नफिर्ने, ऋण माथि ऋण नै लागिरहने, साहुको धम्की, सधैँ तेल, डिजेल र पेट्रोलको भाउ बढिरहने देखाइएको छ। तर मजदुरको पसिना र परिश्रमको भाउ नबढ्ने, लौरीसँग दुःख बिसाउनु, मानिस भएर जन्मे पनि गधाको जस्तो जुनी बिताउनु, कोही सर्वहारा भएर जीवनभरि दुःख पाउने र कोही देश लुट्ने, समानता र अधिकारको लागि सबैले जाग्नुपर्ने पर्ने जस्ता सत्य घटनामा आधारित देखेका तस्बिर र सुनेका भावनाहरु, मुटु गलिरहेका, थाकेका मजदुर, गरिब र किसानहरुको कहालीलाग्दो कथा शासकहरुका कानसम्म पुगाउने प्रयास गगरिएको छ।

हाम्रो मन, मुटु दुख्यो तर शासकको मन मुटु कहिल्यै दुखेन। संविधानमा समाजवाद र समानताका शब्दहरु लेखिए। नेताहरुका भाषणहरुले मजदुर किसानका शब्दहरु समेटिए। निर्वाचनमा घोषणा पत्रमा सबै लिपिबद्ध भए र व्यवहारमा लागु भएन। चाहे राणा, चाहे पञ्चायत र राजतन्त्र, चाहे गणतन्त्र जोसुकै आएपनि मजदुरको कहालीलाग्दो जीवन कहिल्यै फेरिएन। कुनै यस्तो शासकको अर्जुन दृष्टि पर्न सकेन जसले मजदुर, किसान र गरिबलाई हेर्न सकोस्।

जनताको मुटु जलेको देख्दा पनि शासकको मुटु नजलेपछि जनताको पीडा, दुःख र मुटुको जलाइले केही अर्थ राख्दो रहेनछ। पैतलामा काँडा भिज्दा, भारी बिसाइ रोए निको पार्ने पैसा छैन, रोग व्यथा छोए। जिउ ढाक्ने बस्त्रै छैन, भोकशोक के कुरा यस्तै छ नि भरियाको जिन्दगी हजुर। पसिनादाना बगराएर पनि जसोतसो बिहान बेलुकीको छाकको जोहो गरिरहेका आममजदुर, किसान, गरिब मानिसहरुको झन् अहिले विचल्ली भएको छ। कोरोना महामारीका कारण सबैको रोजगारी खोसिएको छ। सबैभन्दा बढी प्रभावित यी नै दैनिक ज्यालादारी गर्ने मानिसहरु छन्।

निषेधाज्ञा भएपछि सबै मजदुरहरुको रोजगारी खोसीयो। रोजगारी खोसिएसँगै चुल्हो पनि बल्न छोड्यो। अरु समयमा पनि राम्रोसँग बल्न नसकेको चुल्हो अहिले झन् सास्ती खेप्नु परेको छ। कोही रोगसँग लडिरहेका छन्, कोही भोकसँग लडिरहेका छन् भने कोही शोकमा डुबिरहेका छन्। कसैलै रोगसँग लड्न नसकेर अकालमा मृत्यु वरण गरेका छन्, केही सरकार र राज्य प्रणालीको असफलताका कारण अस्पतालमा सामान्य बेड पनि नपाएर या अक्सिजन र भेन्टिलेटर नपाएर दिन नआउँदै मृत्यु व्यहोर्न बाध्य पारिएकाहरू छन्।

तिनका आफन्तका केही पिर निजी छन्, परिवारका या निकटका आफन्त गुमाउँदा मुटु भक्कानिएर निस्कन नसकेको पीडा। यी सबै प्रकारका दुखदायी चित्रहरुले सबैको मुटु दुख्यो तर अझैंपनि शासकको मुटु दुख्न सकेन। झन् उल्टै डिलमा उभिएर नागरिकलाई चिडाउने र बिच्काउने गरी ‘कोही भोकले मर्दैन, कोही स्वास्थ्य उपचार नपाएर मर्दैन, सबै व्यवस्था गरेर बसेका छौं’ भन्दै झ्याली बजाउँदै छन्।

प्रधानमन्त्रीले सार्वजनिक मञ्चहरूबाट बेसार र अम्बाको पातले कोरोना फाल्न सकिने हचुवाका अभिव्यक्ति दिँदै आवश्यक पूर्वतयारीमा फिटिक्कै ध्यान नदिँदा नआएको कालबाट आफन्तको ज्यान जानु! सबैभन्दा बढी पीडा नै यहीँ छ कि नेपाल सरकारले उपचारात्मक उपायहरू अवलम्बन नगर्दा नै यो अवस्था आएको हो।

आरम्भदेखि नै प्रधानमन्त्रीले विज्ञानले प्रमाणित नगरेका उडन्ते कुरा गर्नमा जोड दिए। बेसार पानी र अम्बाको पातको रसले कुला गर्ने गफ दिएरै उनले दुनियाँलाई उल्लु बनाउने प्रयास गरिरहे। जबकि उनले वडा र पालिकास्तरका अस्पतालको क्षमता वृद्धि गर्ने, दरबन्दी थप्ने, चिकित्सक र अन्य स्वास्थ्यकर्मी पठाउने, औषधिजन्य उपकरण पठाउने तथा स्थानीय तह र प्रदेश सरकारलाई आवश्यक पूर्वतयारी अपनाउन आवश्यक आर्थिक सहयोग पठाउने काम तदारुकतासाथ गर्नुपर्ने थियो।

परीक्षणको दायरा बढाउने, संक्रमितसँग सम्पर्कमा आएकालाई खोजेर परीक्षण गराउने, संक्रमितलाई संस्थागत आइसोलेसनको व्यवस्था गर्ने र संक्रमणको जुन चक्र छ, त्यसलाई तोड्ने उपायहरू स्थानीय तह र समुदायस्तरमै गर्न सकिने व्यवस्था मिलाउनु थियो। प्रधानमन्त्री ओलीले नागरिको जीवनसँग खेलवाड गर्दै भएको बजेटलाई भ्यु टावर, सिटिहल र मठमन्दिर बनाउन खर्चने र शिलान्यास मात्र गर्ने तर स्वास्थ्य सामाग्री, उपकरण र खोपका लागि कमण्डलु बोकेर छिमेकी राष्ट्रहरुसँग भिक्षा मागिरहेको छ। नागरिकको स्वास्थ्य सुरक्षाको ग्यारेन्टी त गर्न सकेनन्, सँगसँगै अन्तर्राष्ट्रिय रंगमञ्चमा भोका नांगा र हात थापिरहेका मैला र धुलाम्मे नेपाली तस्बिरहरुलाई समेत रोक्न सकेनन्।

तन्नम राष्ट्रको सूचीमा उभ्याइ छाडे। आम नागरिकले अहिलेसम्म भ्याक्सिन पाएको छैन। स्वास्थ्यमा कुनै पनि पूर्व तयारी गरी नबस्ने, चाल्नुपर्ने कदमहरु नचाल्ने, रोजगारी गुमेकाहरुको लागि राहतका प्रबन्ध नगर्ने। बजेट भाषणमा ३६५ दिनमा १०० दिन खाऊ, बाँकी २६५ दिन भोकभोकै मर भन्ने सरकारको बजेट आसयले पुष्टि गरेको छ।

पटक-पटक कसैले भोको रहनुपर्दैन भन्दै चर्को उखान वाचन गर्ने प्रधानमन्त्रीले अहिलेको यो कोरोनाका कहरका बेला पनि बजेटमा राहत र भोकमरी प्याकेज नल्याउनुले प्रधानमन्त्री भोकसँग पनि चिड्ने रहेछन् भन्ने प्रमाणित भएको छ। यस्ता उट्पटयाङ शासकले न त रोग देख्यो, न त भोक देख्यो। देख्यो त केवल आसेपासे र चाप्लुसे झक्तहरुको मुहार देख्यो। न त देश देख्यो न संविधानवाद देख्यो। देख्यो त केवल कुर्सी।

स्वास्थ्य सेवामा पूर्व तयारी गर्न नसक्नुको कारण लामो समयसम्म निषेधाज्ञा झेल्नु परेको छ। निषेधाज्ञाको मार सबैलाई परेको छ। देशको अर्थतन्त्र धरासयी भएको छ। प्रत्येक नेपाली नागरिकको शिरमा ठूलो ऋण लागेको छ। सबै उद्योग कलकारखाना, साना तथा मझौंला उद्योगहरु, व्यापार व्यवसायहरु बन्द भएर चौपट भएका छन्। यसले सबैभन्दा प्रत्यक्ष प्रभाव दैनिक ज्यालादारी गर्ने गरिबहरु माथि नै परेको छ।

हरेक प्रकोपहरुको प्रत्यक्ष मार खेप्नु पर्ने गरिब मदजुरहरुका लागि बजेट भाषणहरुमा कुनै पनि प्याकेज नआउनुले सरकारको सर्वहाराको नारा तुहिएको छ। यो महाव्याधी बीच पनि मजदुर वर्गका लागि राहत प्याकेज नल्याउनुले यो सरकारले गरिबलाई चिन्दैन, जान्दैन र सुन्दैन भन्ने प्रमाणित भएको छ।

कहिलैसम्म बोकूँ अनि यति ठूलो बोझ उठ जुट नरनारी, समानता खोज भरिया दाइले बिसाउने भारी… गरिबको मुटु दुख्यो, तर शासकलाई मुटु दुखेन। भरिया दाइको मुटु दुख्यो तर सरकारलाई दुखेन। भरिया दाइलाई चिन्ने, जान्ने र सुन्ने सरकारको आवश्यकता भएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Check Also
Close
Back to top button