images
images
  • सामाजिक सञ्जाल बन्द गरेर सरकार उल्टो बाटो हिँड्यो : गगन थापा

    काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सामाजिक सञ्जालबारे सरकारले लिएको पछिल्लो निर्णयलाई गलत भन्दै तत्काल पुनर्विचार गर्न आग्रह गरेका छन् ।

    सामाजिक सञ्जालमा नियन्त्रण गर्ने उद्देश्यसहित ल्याइएको निर्देशनप्रति आपत्ति जनाउँदै थापाले सर्वोच्च अदालतको आदेशको गलत व्याख्या गर्दै सञ्जाल बन्द गर्ने निर्णय सरकारबाट आएको आरोप लगाए ।

    ‘सर्वोच्च अदालतले सामाजिक सञ्जालमा अनिच्छित सामग्रीको मूल्याङ्कन, अनुगमन र दुरुपयोग रोक्न कानुनी प्रबन्ध गर्न भनेको हो, निर्देशिकाको आधारमा सञ्जाल बन्द गर्न भनेको होइन,’ थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘त्यसैले आवश्यक कानून निर्माणमा छिटो अघि बढ्नुपर्छ ।’

    उनले सामाजिक सञ्जाल अहिलेको समयमा नागरिकका लागि अभिव्यक्ति स्वतन्त्रता प्रयोग गर्ने, सार्वजनिक बहसमा सहभागी हुने र सरकारलाई जबाफदेही बनाउने महत्वपूर्ण माध्यम भएको उल्लेख गरे ।

    ‘सामाजिक सञ्जालले सामाजिक सम्बन्ध, उद्यमशीलता, डिजिटल अर्थतन्त्र र आम मानिसको दैनिकीलाई समेत छोएको छ,’ थापाले भने ‘त्यसैले यसमा लगाइने कुनै पनि प्रतिबन्धले अभिव्यक्ति स्वतन्त्रता र सूचनाको अधिकार संकुचित पार्छ ।’

    थापाले सामाजिक सञ्जाल बन्द गर्ने विषयलाई साइबर सुरक्षासँग पनि जोडिएको उल्लेख गर्दै यो विषयमा सन्तुलित र विवेकपूर्ण निर्णय लिनुपर्नेमा जोड दिएका छन् ।

    ‘सरकारसँग पुनः आग्रह छ– यो निर्णय पुनर्विचार गरियोस्,’ थापाले भनेका छन्, ‘सामाजिक सञ्जाल सुरक्षित, मर्यादित र दुरुपयोगरहित बनाउन आवश्यक कानुनको निर्माणमा तदारुकता देखाओस् ।’

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै