एमाले स्थायी कमिटी बैठक आज पनि, यी हुन् एजेण्डाहरू

नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज पनि बस्दै छ। बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा दिउँसो ३ बजेका लागि बोलाइएको छ।

बैठक पार्टीभित्रको विवाद, समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा केन्द्रित हुने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले बताए।

पार्टीको विधान अधिवेशनको तयारी, विभागहरूलाई पूर्णता दिनेलगायतका विषय बैठकका एजेण्डा छन्।

एमालेभित्र जारी विवाद समाधानका लागि भन्दै गठित कार्यदलले तयार पारेको १० बुँदे सहमतिको प्रस्तावबमोजिम विभिन्न आयोग गठन, केन्द्रीय विभागहरुको पूर्णता र प्रदेश कमिटीहरुको अनुमोदनलगायत बैठकका एजेण्डा छन्।

यसअघि हिजोको बैठक केहीबेर बसेर सकिएको थियो। बैठकले पार्टी सदस्यताको नवीकरण र अध्यावधिक गर्न समयसीमा तोकेको थियो। अब साउन २३ गतेभित्र जिल्ला पार्टी कमिटी, प्रदेश पार्टी कमिटीले सदस्यता नवीकरण र अध्यावधिक गरेर केन्द्रमा पठाइसक्नुपर्ने भनिएको छ।

यस्तै, भदौ २७ र २८ गते विधान महाधिवेशन गर्न लागिएकाले सदस्यता अध्यावधिक र नवीकरण गर्ने विषय टुंग्याउनका लागि सो निर्णय गरिएको एमाले महासचिव ईश्वर पोखरेलले बताए।

पोखरेलका अनुसार एमालेले देशव्यापी रुपमा असोज ३ गते वडा तहको अधिवेशन गरिसक्ने छ। त्यस्तै, असोज ९ गते पालिकास्तरका अधिवेशन गर्ने छ। एमालेले साउन २४ गतेका लागि केन्द्रीय कमिटी बैठक तय गरेको छ।

जारी स्थायी कमिटी बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष भने अनुपस्थित हुँदै आएको छ। उपाध्यक्ष वामदेव गौतम भने हिजोदेखि बैठकमा सहभागी छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button