कांग्रेसको महाधिवेशन प्रक्रिया सुरु, आज वडा अधिवेशन

काठमाडौं– नेपाली कांग्रेस औपचारिक रुपमा १४ औं महाधिवेशनमा प्रवेश गरेको छ। वडा अधिवेशन आज (शुक्रबार) देखि सुरु गरेर कांग्रेसको महाधिवेशनको प्रक्रिया सुरु भएको हो।
क्रियाशील सदस्यता सूची प्रकाशित भएका अधिकांश जिल्लामा आज वडा तहको अधिवेशन हुँदै छ। क्रियाशील सदस्यता सूची प्रकाशित हुन बाँकी रहेका जिल्लाको अधिवेशन भने तत्काल नहुने भएको छ। आवश्यक तयारी नपुगेको जनाउँदै आज अधिवेशन नहुने भएको हो। ‘जिल्ला तहमा सहमति भएका स्थानमा शुक्रबार वडा अधिवेशन हुन्छ। अर्को दिन गरौं भन्ने सहमति बन्यो भने १/२ दिन पछि अधिवेशन हुन्छ,’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।
हालसम्म ५६ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक भएको छ। २१ जिल्लाको क्रियाशील सदस्यता प्रकाशित हुन बाँकी छ। नामावली प्रकाशित हुन नसकेको जिल्लामा भदौ २६ अघि नै वडा अधिवेशन गर्ने तयारी गरिएको छ। भदौ २७ मा गाउँ / नगरपालिकाको अधिवेशनको कार्यतालिका भएकाले त्यसअघि वडाको अधिवेशन सक्नु अनिवार्य छ।
वडा तहको अधिवेशनमार्फत क्षेत्रीय प्रतिनिधि चयन हुनेछन्। एक सय पचास वा सोभन्दा कम क्रियाशील सदस्य भएको वडामा क्रियाशील सदस्यमध्येबाट प्रदेश सभा निर्वाचन क्षेत्रीय अधिवेशनका लागि कम्तिमा तीन जना महिलासहित नौ जना प्रतिनिधि प्रत्यक्ष निर्वाचित गर्ने विधानको व्यवस्था छ।
एक सय पचास भन्दा बढी क्रियाशील सदस्य भएको वडामा बढीमा ७५ जनाको सीमाभित्र रही प्रतिएक सय थप क्रियाशील सदस्यमा दुई महिला सहित छ जना थप प्रतिनिधि प्रत्यक्ष निर्वाचित गर्ने व्यवस्था छ।
प्रतिनिधि चयन गर्दा विधानको व्यवस्था अनुसार महिला, दलित, आदिवासी जनजाति, खसआर्य, मधेशी, थारु, मुस्लिम, पिछडिएको क्षेत्रबाट दुई तिहाइ संख्यामा वडाको जनसंख्याको बनोट अनुसार समानुपातिक आधारमा प्रतिनिधि निर्वाचित हुनेछन्।