संविधान र प्रतिनिधि सभाको रक्षाका लागि समय खर्चिएको छु : सभामुख सापकोटा

२८ असोज, सिन्धुपाल्चोक । सभामुख अग्निप्रसाद सापकोटाले नेपाल आमाको सेवा गर्न अरु सबै कुरालाई गौण बनाएर देशको व्यवस्था, संविधान र प्रतिनिधि सभाको रक्षाका लागि सबैभन्दा बढि समय दिएको बताउनु भएको छ ।

सिन्धुपाल्चोकको बलेफी गाउँपालिकामा–४ मा आज फ्याफुल्ला युवा क्लबको नवनिर्मित भवन उद्घाटन गरेपछि सम्बोधनका क्रममा सभामुख सापकोटाले आफ्नो बुद्धि, विवेक, योग्यता र क्षमताले भ्याएसम्म २४ सै घण्टा जनताको सेवामा समर्पित हुने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

आफूले आम नागरिकको इज्जत र प्रतिष्ठामा आँच आउने कुनै काम नगर्ने प्रतिवद्धता व्यक्त गर्दै उहाँले भन्नु भयो ‘म जनताको शीर झुक्ने कुरा कहिल्यै गर्ने छैन, देशभक्ति र सदाचारमा कहिल्यै सम्झौता नगर्ने छैन, मातृभूमीका खातिर जीवनको अन्तिम घडी सम्म कसैसंग झुक्ने छैन ।’

भारतीय देशभक्त भगतसिंङको स्मरण गर्दै उहाँले देशभक्ति भन्दा ठूलो केही नहुने स्पष्ट गर्नु भयो ।

सभामुख सापकोटाले भन्नु भयो ‘नेपाल आमा भन्दा ठूलो यो दुनियाँमा हाम्रा लागि केहि पनि छैन ।’

उहाँले दुइबर्ष यता राष्ट्रले बेहोरिरहेको कोभिड–१९, राजनैतिक र प्राकृतिक प्रकोपको संकट पार हुँदै गएको बताउँदै समृद्धिको यात्रामा लाग्नुपर्नेमा जोड दिनु भयो । नवयुवाहरुको उर्जा र उत्साहलाई देश विकासमा लगाउनु पर्नेमा उहाँको भनाई थियो ।

सभामुख सापकोटाले अहिले नेपाल महान बसहको प्रक्रियामा रहेकोले देशका विकृति, विसंगति, भ्रष्टाचार सबै निमिट्यान्न हुने र नयाँ समाज निर्माण हुने विश्वास व्यक्त गर्नु भयो ।

सभामुख सापकोटाको स्थानिय विकास पूर्वाधार कार्यक्रमबाट २० लाख, प्रदेश सरकारबाट ३० लाख र बलेफी गाउँपालिकाबाट पाँच लाख गरी ५५ लाख लगानीमा फ्याफुल्ला क्लबको सुविधा सम्पन्न दुइतल्ले भवन र खेल मैदान निर्माण गरिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button