महाधिवेशन प्रतिनिधि बन्न एमालेले तोक्यो १० वर्षे मापदण्ड

काठमाडौँ– नेकपा एमालेको महाधिवेशन प्रतिनिधि बन्न १० वर्षे मापदण्ड तोकिएको छ । एमालेले विधान संशोधन गर्दै महाधिवेशन प्रतिनिधि बन्न १० वर्षे मापदण्ड तोकेको हो ।

गत भदौ १५ देखि १७ गतेसम्म ललितपुरको गोदावरीमा सम्पन्न पहिलो विधान महाधिवेशनले विधान संशोधन गर्दै भर्खर सार्वजनिक गरेको नयाँ विधानमा एमाले महाधिवेशनमा प्रतिनिधि बन्न कम्तिमा १० वर्ष पार्टी सदस्यता भएको योग्यता भएको हुनुपर्ने व्यवस्था गरेको हो ।

संशोधित विधानको धारा ६३ को उपधारा १ मा यस्तो व्यस्था गरेको छ । महिला, दलित, श्रमिक, अल्पसंख्यक, आदिवासी जनजाति र अपांगता भएका व्यक्तिहरुको हकमा ७ वर्ष पार्टी सदस्यता भए पुग्ने व्यवस्था राखिएको छ ।

संशोधित विधानमा भनिएको छ, ‘राष्ट्रिय महाधिवेशनमा प्रतिनिधि चुनिनका लागि कम्तिमा १० वर्ष पार्टी सदस्य भएर काम गरेको हुनुपर्ने छ । तर, महिला, दलित, श्रमिक, अल्पसंख्यक, आदिवासी जनजाति र अपांगता भएका व्यक्तिले भने ७ वर्ष पार्टी सदस्य भइ काम गरेको भए पुग्ने छ ।’

त्यसैगरी एमालेको केन्द्रीय कमिटीको पदाधिकारी र स्थायी कमिटी सदस्यको उम्मेदवार हुन केन्द्रीय कमिटीको सदस्य भएर एक कार्यकाल काम गरेको हुनुपर्ने व्यवस्था पनि गरेको छ ।

एमालेले केन्द्रीय कमिटी सदस्य उम्मेदवार हुने मापदण्ड पनि विधानमै तोकेको छ । यसका लागि कम्तिमा १० वर्ष पार्टी सदस्य भएर केन्द्रीय कमिटी वा केन्द्रीय निकायको सदस्य भएपछि मात्रै उम्मेदवार बन्न पाउनेछन् ।

एमालेले पालिका वा सोभन्दा माथिल्लो कमिटीमा पदाधिकारीको हैसियतमा कार्यरत कुनै पनि व्यक्ति एउटै तह र एउटै पदमा दुईपटक भन्दा बढी उम्मेदवार हुन नपाउने व्यवस्था गर्दै कार्यकारी कमिटीमा ७० वर्षे उमेर हद लगाएको छ । एमालेको दशौँ महाधिवेशन आगामी मंसिर दोस्रो साता बुटवलमा हुँदैछ ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Check Also
Close
Back to top button