कांग्रेस प्रदेश कार्यसमिति चयनका लागि आज मतदान- कतै गठबन्धन, कतै त्रिपक्षीय भिडन्त

काठमाडौं- नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत प्रदेश कार्यसमिति चयनका लागि आज मतदान हुँदैछ।

शुक्रबार प्रदेश कार्यसमितिका लागि पदाधिकारी र सदस्यहरुको मनोनयन सम्पन्न भएको छ। प्रदेशको चुनाव आफ्नो पक्षमा पार्न गुटगत गठबन्धनसमेत बनेका छन्।

प्रदेश १ मा पार्टी सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौलाको एउटै प्यानल बनेको छ, सभापतिका लागि गुरु घिमिरे र उद्धब थापाबीच प्रतिस्पर्धा हुने भएको छ।

घिमिरे संस्थापन इतर (पौडेल)पक्षबाट सभापतिका उम्मेदवार रहेका छन् भने थापालाई संस्थापन (सभापति शेरबहादुर देउवा) पक्षसँगै नेता कृष्ण सिटोलाको पनि साथ छ।

त्यस्तै सुदूरपश्चिम प्रदेश कार्यसमिति चयनका लागि संस्थापन र इतरपक्ष प्यानलसहित चुनावी मैदानमा होमिएका छन्। सभापतिमा संस्थापन पक्षबाट केन्द्रीय सदस्य तथा पूर्वमन्त्री वीरबहादुर बलायर र इतरपक्षबाट कैलालीका पूर्व जिविस सभापति नारायणदत्त मिश्र भिड्दै छन्।

गण्डकी प्रदेश कार्यसमितिका लागि ५१ जनाले उम्मेदवारी दर्ता गरेका छन्। पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले प्यानलसहित उम्मेदवार बनाएका छन्। सभापतिका लागि अर्जुन जोशी र शुक्रराज शर्माको उम्मेदवारी परेको छ। जोशी पार्टी सभावपति देउवा निकट हुने भने शर्मा वरिष्ठ नेता पौडेल पक्षका हुन्।

बागमती प्रदेशमा सभापति देउवा र नेता सिटौला पक्षले गठबन्धन बनाउने प्रयास गरेपनि असफल भएको छ।

हेटौंडामा जारी अधिवेशनमा संस्थापन पक्षबाट इन्द्र बानियाँले उम्मेदवारी दिएका छन्। नेता कृष्णप्रसाद सिटौला पक्षबाट भिमसेनदास प्रधानले उम्मेदवारको मनोनयन दर्ता गराएका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट जगदिश्वर नरसिंह केसीले उम्मेदवारको मनोनयन दर्ता गराएका छन्।

लुम्बिनीमा देउवा पक्षका भरत शाहले गैर संस्थापनका अमरसिंह पुनसँग प्रतिस्पर्धा गर्ने भएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button