फेरि लकडाउन हुन्छ होला त बाबु ?

– हरि जिज्ञासु (पत्रकार)
म प्राय बेलुकीपख सडकमा बेचिने तरकारी किन्छु । विभिन्न कार्यव्यस्तताका कारण साँझपख कोठामा पुग्ने भएकाले मैले तरकारी कतिखेर कहाँ किन्छु पत्तो हुँदैन । काठमाण्डौँमा जीवन चलाउनको लागि धेरै मान्छेहरुले विभिन्न कार्यहरुलाई आफ्नो पेशा बनाएर संघर्ष गरिरहेका छन् । सडक देखि महलसम्मका मान्छेहरुलाई काठमाण्डौँमा भेट्न सकिन्छ ।

म प्राय बुढी आमाहरु र बालबालिकाहरुले बेच्नको लागि राखेको तरकारी किन्न मन पराउँछु । बुुढी आमाहरु र बालबालिकाहरुसँग किन्नुको मेरो एउटै स्वार्थ हो, जसलाई जीवन चलाउन हम्मे–हम्मे परेको छ, मेलै संघर्षकोसाथ कमाएको पैँसा उनै संर्घशील जीवन विताईरहेकाहरुलाई जाओस् ।

आज एउटा कामले कालीमाटीको बाटो भएर कोठा पुग्नुपर्ने भयो । कालीमाटीको सडक छेउमा एउटा सानो तरुलको भाग, अनी अर्को सानो आलुको भाग लगाएर ग्राहक पर्खीरहेकी बुढी आमा भेटिनुभयो । गाला चाउरीएका, कपालको केश फुलेर सेताम्य भएको, सुकेको ओठमुखले चिसो पानी मागिरहेको जस्तो, उनको नजरहरुलाई नियाल्दा तरुल र आलु बेच्नको लागि ग्राहक पर्खीरहेको प्रष्ट देखिन्थ्यो ।

सरकारले घोषणा गरेको स्मार्ट लकडाउन मलाई अर्थहिन लाग्छ । कुनै पनि सभासमारोहमा २५ जना भन्दा बढि भेला नहुने भन्छ तर कालीमाटी तरकारी बजार, अनी काठमाण्डौँको जाम, पार्कमा घुम्ने युवायुवतीको जमात, अनि काठमाण्डौँ बाहिर चलिरहेका मेला महोत्सवले सरकारको कोभिड नियन्त्रण नीतिलाई गिज्याइरहेको छ ।

बुढी आमाले माक्स लगाउनुभएको थिएन । छेउमा मोटरसाइकल पार्कीङ गरेर ग्राहक पर्खीरहेकी बुढी आमाको छेउमा गएर सोधेँ “ आमा तरुल कति रुपैँया पर्छ ?” आमाले जवाफ दिईन“ कति रुपैँयाको लिने बाबु ? लैजानु न राम्रो छ तरुल । मैले १५० रुपैँयाको तरुल किन्ने भएँ आमासँग ।

तरुल आमाले पलास्टिकमा राखिदिनुभयो । केही समय रोकिएर आमासँग कुरा गरेँ । आमाले आफ्ना केही पिर बेथाहरु सुनाउनुभयो । एउटा छोरी साथमा हुनुहुँदोरहेछ, काठमाण्डौंमा चाहिँ भाडामा बस्नुहुँदोरहेछ । आमाको दुःखको कथा सुन्दा मेरो मन पनि भावुक भयो । आमासँग हौसला मिल्नेखालका केही सुख दुःखका कुरा गरेँ । हौसला दिने बाहेक अरु के नै छर मसँग पनि ? अन्तमा क्यामरा झोलामै बोकेकोले“ आमा हजुरको एउटा फोटो खिच्छु ल, भनेर आमासँग अनुमति मागेँ । आमाले सहमती जनाउनुभएपछि फोटो खिचेर क्यामरा र तरुलसँगै ब्यागमा हालेँ । जान्छु है आमा, बस्नुहोला भन्ने वित्तिकै आमाले मन अमिलो बनाउदै भन्नुभयो“ बाबु फेरि लकडाउन हुन्छ भन्ने हल्ला छ त सहि हो र ?” आमाको प्रश्नको उत्तर दिनसक्ने जावफ मसँग थिएन । आमाको चाउरीएको मुहार र खर्च धान्नको लागि ग्राहक पर्खिरहेको नजरलाई राम्ररी नियालेपछि मन भाबुक बनाउँदै आमालाई अपुरो जवाफ दिएँ । सकभर नहोला आमा, फेरि लकडाउन भयो भने त जनता भोकले मर्छन् ।” आमाले बोलीन “सकभर लकडाउन नभए हुन्थ्यो के बाबु । लकडाउन भयो भने त के खाने हो र गाह्रो छ ।”

अली हतार भएकाले“ आमा, माक्स लगाउनुहोला, अलि सुरक्षित हुनुहोला है ? आमाले अलिकति मुस्कुराएर भन्नुभयो हुन्छनी बाबु । हजुरले पनि ख्याल गर्नुहोला ।”

बाटोमा धेरै कुरा सोचेँ“ हरेक मान्छेका हरेक प्रकारका पिर व्यथाहरुले जेलिएको संसार बढो अजिबको छ । अनि झनै अजिबको छ नेपालको राजनीति अनि शासन प्रणाली ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button