आगामी निर्वाचन र मतदाताको दायित्व

विषय प्रवेशः

नेपालको संविधान –२०७२ ले व्यवस्था गरेवमोजिम वर्ष २०७९ दोस्रो निर्वाचनको वर्ष हुने छ । संविधान सभाको निर्वाचनका माध्यमले २००७ सालदेखिको सपनालाई साकार पार्ने उदेश्यले वनेको संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानलाई कार्यान्वयन गर्नलाई कोशेढुंगाका रुपमा हेरिएको सिंहदरवारको अधिकार गाउँगाउँमा पुर्याउन यस निर्वाचनलाई महत्वपूर्ण मानिएको छ ।

जनयुद्ध र जनआन्दोलनको जगमा उभिएको नेपालको संविधान २०७२ले यसको धारा १६देखि धारा ४६सम्म विभिन्न मौलिक अधिकार प्रदान गरेको भए तापनि नागरिकवाट थोरै कर्तव्यको मात्रै आशा गरेको छ । संविधानको धारा ४८ मा–४ वटा वुँदामा–राष्ट्रप्रति निष्ठावान हुँदै नेपालको राष्ट्रीयता, सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्नु
–संविधान र कानुनको पालना गर्नु
–राज्यले चाहेका वखत अनिवार्य सेवा गर्नु
–सार्वजनिक सम्पत्तिको सुरक्षा र संरक्षण गर्नु
उल्लेख गरेको भए तापनि राज्य संचालनका कडीका रुपमा रहेका जनप्रतिनिधहरु योग्य, दक्ष, ईमान्दार, अनुशासित, देशभक्त, कर्मठ, कर्तव्यपरायण लगनशील र जागरुकलाई जनप्रतिनिधि छनौट गर्नु पनि नागरिकको कर्तव्य हो ।

२०७४को निर्वाचन र यसले जन्माएका संसय
नेपालको संविधान २०७२अनुसार २०७४सालमा भएका स्थानिय, प्रदेश र संघको निर्वाचनले स्थानिय देखि केन्द्रीय सरकार सम्मका जनप्रतिनिधि छनौट गरी सरकार निर्माणमा महत्वपूर्ण दायित्व पुरा गर्नुका साथै सहज सरकार निर्माणको अवसर प्रदान गरेको छ ।

स्थानिय देखि केन्द्रसम्मका जनप्रतिनिधि छनौटका विभिन्न मापदण्ड निर्धारण र चुनावी घोषणापत्रका माध्यमले मतदातालाई आकर्षित गरेका थिए । विगत स्थानिय निर्वाचनमा नेपाली कांग्रेस, नेकपा–माओवादी र राप्रपाका विचमा चुनावी मोर्चा वनेका थिए जहाँ यी दलका नीति सिद्धान्त विचार धारणामा ठुलो अन्तरहुँदा-हुँदै पनि चुनावी तालमेल भएका थिए । अर्कोतर्फ नेकपा एमाले एक्लै चुनाव लडेको थियो तर आफ्ना विगत र आकर्षणपुर्ण नारा तथा घोषणापत्रका माध्यम स्थानिय तहमा वर्चस्व कायम गरेको थियो । यस निर्वाचनको प्रदेश र संघीय निर्वाचनमा फेरी नेकपा एमाले र नेकपा माओवादीका वीच ६०/४०का अनुपातमा तालमेल गरी एउटै चुनावी घोषणापत्र र मञ्च प्रयोग गरी निर्वाचनमा गएर करिव २/३ वहुमत आर्जन गरी सरकार निर्माण गरेका थिए ।

नेकपा एमाले र नेकपा माओवादीको नामको केहि अंश मिले पनि अरु नीति सिद्धान्त र विचार मिल्दैनथ्यो । नेकपा एमाले र नेकपा एमाओवादी दुई शीर्ष नेता र तिनका वरिपरिका केहि भजन मण्डलीलाई मिलाएर पार्टी एकता नै गरे । तर पनि यी दुई दलका शीर्ष नेताका विच आधा आधा कार्यकाल प्रम हुने पुर्व लिखित प्रतिवद्धता पुरा नगरी प्रम केपि ओलीले २ पटक संसद नै विघटन गर्न पुगेपछि अदालतको साहाराले संसद पुर्नस्थापना र पाँच दलको गठवन्धन सरकार, सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी(नेकपा) तीन टुक्रामा विभाजन मात्र नभै तिनीहरुका विचको विवाद चरम सिमामा पुगी गाली–गलौज र आरोप प्रत्यारोपमा परिणत भएको छ ।

कैयौं वर्षसंगै रहेर पार्टी निर्माणमा महत्वपूर्ण भुमिका निर्वाह गरेका गत महाधिवेशनमा एकजना विजयी र अर्को पराजयी भएका दुई नेताको आपसी कुण्ठा, अहम, घमण्डका कारण पार्टी नेकपा एमाले विभाजन भई नेकपा एकिकृत समाजवादी वन्नु, नेकपा एमालेका नेताहरु कै संलग्नतामा आफ्नै पार्टीका अध्यक्ष तथा प्रमको विरुद्ध १९ बुँदे आरोप पत्र दर्ता हुनु, १९ बुँदेका २९ बुँदे प्रत्युत्तर पत्र आउनु, विपक्षी दलसंग मिलेर अदालतमा गुहार मागी अदालतकै आदेशमा सरकार वनाउनु, यी सवै कुराले आम जनमानसमा आक्रोश र संसय उत्पन्न गराएको छ । यति मात्र नभै अन्तराष्ट्रिय रुपमा नेपालको छवि र प्रतिष्ठामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका गतिविधिले आँच र्पुयाएको छ ।

निर्वाचनले जन्माएका विकृति र सवैको दायित्व र कर्तव्य
नेपालको निर्वाचन र दलका विचमा रहेका पार्टीका नीति सिद्धान्त र विचार एकातिर अर्कोतर्फ दलले टिकट वितरण गर्दा मोटो रकम लिएर वितरण गर्ने, पुराना, योग्य, ईमानदार, अनुशासीत, विद्वानलाई दिनु भन्दा मोटो रकम दिने दलाल भनिने, आफन्त, परिवारजन र चाकरीवाजलाई प्रदान गर्ने विकृति हाम्रो निर्वाचनमा प्रश्रय पाएको छ । मतदाताले आत्मसाक्षी राखी पवित्र मनले मतदान गर्नुको वदला मतलाई माछा,मासु, रक्सि कपडा, ईन्धन र गक्ष अनुसार दक्षिणा लिएर गरिने मतदानले विभिन्न विकृति र भ्रष्टाचारले संस्थागत मान्यता पाएका छन । यी हरेक विकृतिको जवाफ पाएर मात्रै मतदान गरी असल नागरिकको भुमिका निर्वाह गरौं ।

के यी प्रश्न सोधी पातकीलाई हदै सम्मको सजाय दिने वेला भएन ? के सरकारले विगतमा भएका असमान राष्ट्रघाती सुगौली, कोशी, गण्डकी र महाकाली सन्धीको पुनरावलोकन र समिक्षा गरी समय सान्दर्भिक वनाउन ढिला भएन ? के भण्डाफोर काण्ड, लाउडा काण्ड, धमिजा काण्ड, वाईडवडी काण्ड, ३३ किलो सुन काण्ड, विगतमा लाखौ भारतीयलाई प्रदान गरिएका नागरिकता, यति होल्डींग काण्ड, गोकर्ण रिसोर्ट भाडा काण्ड, गिरीवन्धु टिस्टेट काण्ड, पशुपतिको गजुरको जलरीमा ११ किलो सुन कम भएको काण्डको छानविनको वास्तविकता वाहिर नआउनु, नेपाल ट्रष्टको जग्गा हिनामिना, कोरोनाको खोप तथा पिपिई खरीदमा भएको अनियमिता र हानी नोक्सान, विभिन्न विदेशीले वनाई दिएका उद्योग र तिनिहरुले चर्चेका जग्गा कौडीको भाउमा विक्रि गरी गरिएको हानी नोक्सान, पौँने सात अरव वेरुजु, क्यान्सर रोगको उपचारमा खरीद गरिएको टोमोथेरापी मेसिन खरीदमा गरिएको अनियमिता, नदी एवं खनिज दोहनमा भएका अनियमिता, ललिता निवासको जग्गा हिनामिना र अनियमितता, एनसेल लगायतको राजस्व असुलीमा अनियमिता, फोरजी खरीद काण्ड, सरोकारवाला उच्च पदस्तको सम्पत्ति विवरण तथा पदमुक्तपछि हुने विवरण पेशमा कड़ाई नहुनु, रातको १२ वजे भारतीय गुप्तचर प्रम निवास प्रवेश र भएका कुराकानीको विवरण वाहिर नल्याउनु, भारतवाट नेपालका विभिन्न स्थानमा गरिएका ३३००० एकड भुमि सिमावर्ती भागका भुमि अतिक्रमणमा चुपचाप वस्नु, भारतीय सुरक्षाकर्मि नेपाल प्रवेश गरी गरिएको हत्या तथा टुईन काटी गरिएको हत्यामा चुपचाप रहनु, सर्जु जलाधारको जमिनको हिनामिना काण्ड, दरवार हत्या काण्ड, मदन भण्डारीको हत्याकाण्ड, निर्मलाको वलात्कार पछि भएको हत्या काण्ड वारे चुपचाप, विभिन्न समयमा अदालत र सरकारका विच भएका सेटिंगका वारे चुपचाप, भारतले नेपालको कालापानी हँदै मानसरोवर जान ८८ कि मि सडक निर्माणमा नेपाली भुमि उपयोग गरेपनि सरकार चुपचाप, भारत सरकारले नेपाल सिमा नजिक वनाएका तटवाँध र डुवानवारे सरकार मौन, सेक्युरीटी मेशिन खरीद प्रकरणमा विभागिय मन्त्री र आपुर्तिकर्ताका विचमा भएको कमिशन मागको अडियोवारे, माओवादी क्यान्टुन्मेटको रकम अनियमिताको भिडियोका छानविन, चेलीवेटी वेचविखन र वलात्कारवारे मौनता, प्रत्येक दिन नेपालवाट विदेश पलायन र तिनिहरुको रोकथामकावारे सरकारको मौनता, एमसिसीको संसदवाट पारित र त्यसवाट हुने राष्ट्रघातवारे, नेपालमा उत्पादित विजुली नेपालमै उपयोगका उपाय खोज्न छाडेर कौडिको मुल्यमा वेच्न छाडी नेपाली वजारमै विद्युत उपयोगका वारेमा सरकारी मौनता, सिहंदरवारको अधिकार गाउँगाउँको सट्टा भ्रष्टाचार गाउँमा पुगेकावारे सरकारको मौनता, राजदुत, संवैधानिक निकाय र अदालतमा मोटो रकम लिई दलका कार्यकर्ता भर्ती केन्द्र वनाई देश नै विघटन तिर धकेलेको, पशुपति र दरवार भित्र निर्माण र भाडामा अनियमितता लगायतका थिति भन्दा वेथिती वारे प्रश्न उठाउन हाम्रालाई हैन राम्रालाई उठ्न अभिप्रेरित गरौं ।

निर्वाचनपछि उच्चस्तरीय शक्ति सम्पन्न आयोग वनाई यि सवै विकृतिको छानविन गरी दोषीवाट असुल उपर गर्न सक्ने जनप्रतिनिधि छानौं ।

नेतृत्व र नेतृत्वका गुणहरु
देश निर्माणमा नेतृत्वको महत्वपूर्ण भुमिका रहन्छ । क्षमतावान नेतृत्वले आफुसँग भएका प्राकृतिक र मानवीय संशाधनको उपयोग गरी छोटो समयमा चमत्कारिक उन्नति गर्न सक्ने कुरा हाम्रा छिमेकको प्रगति हेरे पुग्छ, शीर्फ हामीमा तुलना र छनौट गर्ने क्षमताको खाँचों छ । नेतृत्व प्रक्रिया, गुण र क्षमताको अनुकरणीय समिश्रण हो ।

नेतृत्वले समुह/अनुयायीको अगुवाई, अन्यका आचरणमा प्रभाव, नेतृत्वका गुणले सम्पन्न र संगठनका उदेश्य प्राप्त गर्ने क्षमता कम्तिमा हुनुपर्छ । नेतृत्वले निर्देशन, सर्वेक्षण/तालिम, उत्प्रेरणा, संचार, मध्यस्तकर्ता र प्रतिसंहारका कार्य गरी संगठनको उदेश्य पुरा गर्छ । विभिन्न उदेश्य, दर्शन, विचार, नीति सिद्धान्त, घोषणापत्र र समर्थक शुभेच्छुकसहित स्थापना भएका दलहरु, तिनका शुभेच्छुक र भातृसंगठनका नियमित सम्मेलन र महाधिवेशन हुन्छन् । महाधिवेशनले नीति, सिद्धान्त, विचार, विधान प्रतिवेदन पेश एवं पारित गर्दछन् । यी सवै लक्ष्य हासिलका निमित्त नेतृत्व पनि चयन गर्दछन । त्यस्तै गरी तिनै दलहरुले स्थानीय देखि केन्द्रीय सम्मका विभिन्न तहमा आफ्ना दलका प्रतिनिधि निर्वाचनमा सहभागी गराई निर्वाचन जित्छन् ।

दलले निम्न गुण भएका आफ्ना प्रतिनिधि उठाउने र तीनै गुण भएका विभिन्न दलका उम्मेदवारहरुमध्य सवै भन्दा योग्यलाई आत्मा र ईश्वरलाई साक्षी राखी कुनै प्रलोभन, दवाव र स्वार्थमा नपरी मतदान गरी विजय गराउनु सच्चा देशभक्तको कर्तव्य हो । प्रभावकारी नेतृत्वमा कम्तिमा यी गुण हुनु आवश्यक छ :

१) संगठनका उदेश्यप्रति स्पष्टता : जुन दलको प्रतिनिधि हो त्यस दलको नीति, सिद्धान्त, विचार वुझेको र आफ्नो दलको घोषणापत्रवारे सप्रसँग व्याख्या गर्न सक्ने क्षमता हुनु पर्छ । संगठन प्रति ढुलमुल, टपर टुईया हुनुहुँदैन । देशको संविधान प्रचलित ऐन कानुनका वारेमा पनि ज्ञान हुनु राम्रो हो ।
२) स्पष्ट मुल्यांकन क्षमता : समुहमा बस्दा, सहयोद्धासँग काम गर्दा, मुल्याकन गर्दा, प्रतिवेदन तयार पार्दा राम्रो समझदारी र वुझाई नेतृत्वमा हुनु पर्छ । आफु, परिवार, आफन्त, चाकरी र कोसेलीका आधारमा मुल्याँकन भएमा न्याय पर्छ ।
३) आत्मज्ञान : आफ्ना क्षमता, सम्भावना, कम्जोर, अवसर र चुनौतीको सटिक आत्मज्ञान उम्मेदवारमा हुनु पर्छ ।
४) वस्तुनिष्ठता : सवै पक्षको सिमालोकन गर्ने र निष्कर्षमा पुग्न सक्ने गुण जनप्रतिनिधिमा हुनु आवश्यक छ ।
५) संवेगात्मक परिपक्वता : मन, वचन र कर्मलाई आवश्यकता अनुसार नियन्त्रण गर्न सक्ने, छिट्टै उत्तेजित र आवेगमा नआउने, रीस नियन्त्रण र जस्तो सुकै जटील अवस्थालाई कावुमा लिन र मुस्कानसहितको सेवा दिने गुण जनप्रतिनिधिमा हुनु पर्छ ।
६) पहलकदमी लिन सक्ने : संगठनका लक्ष हासिल गर्न सधै अभिरुचि सहित पहल कदमी लिने क्षमता जनप्रतिनिधिमा हुनु पर्छ।
७) विद्वता र तालिम : एक्काईशौ सताव्दीको विज्ञान प्रविधि,भाषाका साथै समाजको प्राज्ञ र तालिम प्राप्त जनप्रतिनिधि हुनु पर्छ ।
८) सिकाई प्रति सधै तत्पर : शिक्षा जीवन प्रयन्त प्रकृया हो त्यसैले पढ्ने सिक्ने कार्यमा सधै लागि रहने नेतृत्व हुनु पर्छ जसको अनुकरण अरुले गर्न पाउँन् ।
९) असल आचरण : समाजमा जुवाडे, लोभी, पापी, घमण्ड, व्यभिचारी, वलात्कारी, दुव्र्यसनी, असभ्य व्यक्ति पनि रहेका हुन्छन जनप्रतिनिधि यस्ता कर्मवाट टाढा हुनु पर्छ । शिष्ट, सभ्य र आचरणवान जनप्रतिनिधिले नै समाज रुपान्तरण गर्न सक्छ ।
१०) सहयोगी र समन्वयकारी : मर्दापर्दा सहयोग र समन्वय गर्न सक्ने जनप्रतिनिधि हुनुपर्छ ।
११) ईमान्दार र मिलनसार : नैतिकवान, ईमान्दार, पुरानो, अनुशासित र जस्तोसुकै परिस्थितिमा पनि समानता ल्याउन सक्ने जनप्रतिनिधि हुनु पर्छ ।
१२) व्यक्तिगत गुणः स्वप्नदष्र्टा, राम्रो लक्ष्य, उदेश्य, स्पष्ट वक्ता, तर्क पेश गर्न सक्ने, व्यक्तित्व भएको जनप्रतिनिधिमा व्यक्तिगत गुण हुनु पर्छ ।

आम रुपमा नेतालाई चोरका रुपमा हेर्ने, कुनै पेशा व्यवसाय नभएको, पैत्रिक हैसियत कम भएको, चन्दाका भरमा जेनतेन जीवन निर्वाह गर्नेहरु छोटो समयमा देशका प्रमुख शहरमा ठुला ठुला लोभ लाग्दा महल, गाडी, नोकरचाकर, राम्रो बैँक वचत, विदेशमा उपचार र राम्रा विद्यालयमा छोराछोरी पढाउने हैसियत र विलासी जीवन शैलीको स्रोत कार्यकर्ता र मतदाताले खोज्नु पर्छ । देश वर्वाद भै सक्यो अहिले नखोजेर कहिले खोज्ने ? हामीले नखोजेर कसले खोज्ने? सम्भव यसै समयमा छ सवै मिलौं पहल गरौ । जय मातृभुमि ।

तयार गर्ने
रामप्रकाश अधिकारी
भरतपुर महानगरपालिका-११ / मुक्तिनगर, चितवन
email: ramprakashadhikari1@gmail.com

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button