पत्रकार र पत्रकारिताका चुनौती

पत्रकारितालाई मुलुकका हरेक परिवर्तनका संवाहकका रूपमा लिइन्छ । यस्तो परिवर्तनका संवाहकका साँचो सम्हालेका पत्रकार अनि पत्रकारिताको विश्वसनीयता र सम्मान दुवैका अवस्था आज जीर्ण बन्दै गएको छ । देश परिवर्तनका बाटोमा लाग्दै गर्दा पत्रकारितामा पनि केही परिवर्तनका दृश्यहरु भने अवश्य देख्न सकिन्छ ।

इतिहासलाई फर्केर हेर्दा वि.सं. २००७ साल अगाडिको जाहँनिया राणा शासन पश्चातको बन्द पञ्चायती समाज । त्यस पछिका आवधिक खुल्लापन । दश वर्षसम्म माओवादी क्रान्तिका नाममा हिंसात्मक विद्रोहका कयौं कष्टकर चरण । नेपाली मनमस्तिष्कले कल्पना नै गर्न नसकेको शाही संहार ।

संकटकाल, राजा ज्ञानेन्द्रको सक्रिय शासन र फेरि बन्द, हड्ताल, जनआन्दोलन, मधेसी आन्दोलन, शान्तिप्रक्रिया, गणतन्त्र, प्रतिनिधिसभा, नयाँ संविधान, नाकाबन्दी, संघीय संरचना आदि छोटै अवधिमा ठूला घटनाहरु देख्न पाउने हाम्रो पुस्ता । लाग्छ यि कयौं परिवर्तनमा पत्रकारिताको विन्दुले अहम भुमिका निभाइएको त्यो सत्यलाई हामीले कदापी नजरअन्दाज गर्न सक्दैनौ ।

नेपाल जस्तो यथार्थको हिसाबले नितान्त प्राचीन परम्परागत चाहनाले जेलिएको र हमेसा नयाँ बिचार ग्रहण गर्न नसक्ने भनेर चिनिएको मुलुकमा पत्रकारितालाई मानिसहरुले त्यति सजिलै ग्रहण गर्ने कुरा कल्पनाका सीमारेखा बाहिरका थिए । पत्रकार आफ्नो मात्र नभएर सम्पूर्ण नागरिकको अधिकार रक्षाको लागि पहरेदारी र खबरदारी गर्ने सचेतक हो । आवाजविहीन नागरिकको आवाजलाई मुखरित गर्ने सचेत नागरिक हो पत्रकार । यसरी देशको नागरिकको अधिकारप्रति सचेत रहँदै राज्यका अन्य तीनवटा अङ्गसँग जनतालाई जोड्ने पुलको काम गर्नु पनि हो पत्रकारको काम । यसैकारण पत्रकार विनयशील, अध्ययनशील र सचेत हुनपर्छ । यसैभित्र पत्रकारको मर्यादित अधिकार अनुदित हुन्छ । अधिकारका साथै कर्तव्य जोडिएका हुन्छन् नागरिकका । यति लामो र गौरवपूर्ण पत्रकारिताको इतिहास पार गरेर यहाँसम्म आइपुग्दा पनि हामीले आफ्नो कर्तव्यप्रति सचेत भएका छैनौँ कि भन्ने देखिन्छ ।

पत्रकारिता समसामयीक ज्ञानको व्यवसाय हो । पत्रकारले आवाजविहिनहरुको प्रतिनिधित्व गर्छ । देशको समालोचक, शिक्षक, पथप्रदर्शक र सल्लाहकारको रुपमा कार्य गर्दछ । पत्रकारिता कला, कर्म र सेवा सबै हो । पत्रकार समाजका प्रतिष्ठित व्यक्ति हुन् भने पत्रकारिता समाजको प्रतिष्ठित पेशा हो । सत्यतथ्य सूचनाहरु सम्प्रेषण गर्नु र सरकारलाई सदैव सकारात्मक र संविधानत कामहरु गर भन्दै घचघचाई रहने कार्य पत्रकारले गर्नुपर्दछ ।

पत्रकार र पत्रकारिताका चुनौती
विश्वसनीयता पत्रकारको सबैभन्दा ठूलो पूँजी हो । जनताको विश्वास कमाउनुलाई नै पत्रकारिताको सबैभन्दा ठूलो प्राप्ति मानिन्छ । पत्रकारिताप्रति जनविश्वास गुम्नुभन्दा ठूलो हानी पत्रकारिताका लागि केही हुँदैन ।
लोकतन्त्र, नागरिकको अधिकारको रक्षा र राष्ट्रको समुन्नतिका लागि आफ्नो कर्तव्यलाई हरपल अधिकार समान ठान्नुपर्दछ । यसैमा पत्रकारिताको पेशागत सम्मान, मर्यादा र अधिकार अन्तरनिहित हुन्छ, सबैको हित हुन्छ । सत्य र सन्तुलन अवलम्बन गर्ने पत्रकारिता नै जनताको विश्वासिलो बन्न पुग्छ ।

हिजोका दिनमा हातैबाट लिखितम गरी प्रकाशन गरिने पत्रपत्रिकाका आजकाल आधुनिक प्रविधिको प्रयोगबाट प्रकाशन भएका छन् । पत्रकारिताका लागि विभिन्न आधुनिक उपकरणका विकाससँगै यस्ता कुराका प्रयोगले पत्रकारितामा केही नवीनतम परिवर्तनको आभास भनी पक्कै दिलाइदिएको भेटिन्छ । तर लामो पत्रकारिताको इतिहास मुलुकले बोकी रहँदा जुन कुरामा वास्तविक गुणस्तरीय परिवर्तन देखिनु पर्ने हो, त्यो वास्तवमा नै शून्य पाइन्छ ।

पत्रकारिता भित्रका ती कयौं ताण्डवको प्रताडितलाई रोक्नु पर्ने आजको चुनौती हो । जसले गर्दा समग्र पत्रकारितालाई हल्का रूपमा नेपाली समाजमा चित्रण हुन थालीरहेकोमा कुनै दुइमत छैन । सामान्यतया व्यक्ति हिसाब ज्ञानले सञ्चारमाध्यमलाई बुझ्ने परिवेशको ज्ञानको आवश्यकता हुन्छ ? यस्तो परिवेशको ज्ञान एक पत्रकारसँग कतिको छ ? पत्रकारितामा लागेको मानिसको क्षमता कति छ ? कति जोश अनि जागँर छ, पत्रकारसँग जे छ, त्यो क्षमता हो । त्यो क्षमतालाई कुनै पनि हालतमा विस्थापनमा पठाउनु हुँदैन । सत्यबाट हामी कदापी भाग्न सक्दैनौ ।

पत्रकारले जुन विन्दुबाट रिझाउने काम थाल्छन, पत्रकारिताको अन्त्य त्यहीबाट हुन्छ । भनिन्छ, पत्रकारिता भनेको भक्तिगान होइन, यो त एक आलोचनात्मक चेत हो । यो कुनै पेशा मात्र होइन, यो त एक धर्म हो । पत्रकारहरुले सदैब सहि बाटोमै उभिनका लागि प्रयत्न गर्ने हो । सहिको मार्गमा उभिदा कतिको सफल होइन्छ या होइन्न, त्यो फरक पाटो हो । पत्रकारिताको सुरुवात न्याय अनि सहि बाटोबाटै हुनुपर्ने हुन्छ । जुन आफैंमा पत्रकारिता क्षेत्रको सर्वोच्च धर्म भित्र पर्छ । तर बिडम्बना यहाँ यस्तो हुँदैन ।

पत्रकारिता विषय आफैमा अध्ययन गर्नुपर्ने विषय भएकोले पत्रकार बन्नका लागि अध्ययन अति आवश्यक रहेको मानिन्छ । अध्ययन विनाको पत्रकारिता हामीले कल्पना पनि गर्न सकिन्दैन । तर यहाँ वर्तमानमा देखिएका अधिकांश पत्रकारहरुमा शैक्षिक अध्ययन लगभग सामान्य कास बन्न आवश्यक शैक्षिक योग्यता पनि हामी पाउँदैनौ भने व्यवहारिक शिक्षाको कतिपय पत्रकारमा सुन्ने नै रहेको देखिन्छ । कुरा त पत्रकारितामा उसको क्रियाशीलता, निरन्तरता र पत्रकारिता सम्बन्धी सामान्यभन्दा सामान्य ज्ञानको प्रथम त योगदान हो जस्तो लाग्छ एक पत्रकारका लागि । अब प्रश्न उठ्छ शैक्षिक अध्ययन र व्यवहारिक शिक्षाका कमि रहेका पात्रहरु यदि पत्रकारितामा हाबी रहनु भनेको दिनप्रतिदिन पत्रकारिता चुनौतीका दिशामा लम्किनु सिवाय केही सम्भावना देखिन्न ।

पछिल्लो समय नेपाली पत्रकारिता पेशाको झ्यालबाट छिरेर व्यवसायको ढोकाबाट निस्किने प्रवृत्ति बढेको छ, यसलाई मर्यादित बनाउन थप आवश्यक छ । पत्रकार आचारसंहिताको व्यवहारिक कार्यान्वयनको आवश्यकता छ । पत्रकारितामा देखिएका कयौं विकृति र विसंगति पछिल्लो समयका केही उदाहरण् हुन् । जसरी कन्टेटका नाममा भाइरल हुने नाममा एकले अर्कालाई सिध्याउन, बदनाम गर्नेे र समग्र नेपाली पत्रकारितालाई नै प्रभावित पार्नेसम्मका हर्कत अहिले भइरहेका छन । मिडिया उद्योगको परिभाषा दिँदै कतिपय युटुयुव, फेसबुकद्धारा चलाइने सामाजिक सञ्जालले त झन थप नेपाली पत्रकारिताको साख गिराउने काम गरेका छन् । वास्तविक पत्रकारलाई नै बदनाम र पेशाकै बेइज्जत गरेका छन । यसो हुनु किमार्थ ठीक होइन । जुन पत्रकार र पत्रकारिता विकासको सपना देख्नेहरुको लागि वास्तवमा हृदयबिदारक देखिन्छ । पत्रकारिता निश्चय नै पेशा हो व्यवसाय होइन । यो मर्यादा, जवाफदेहिता र उत्तरदायित्वसहितको पेशा हो । पत्रकारिता त उच्च नैतिकतासहितको आस्था, विश्वास र प्रतिबद्धता हो । आज पत्रकारितामा नयाँ क्रान्ति आएको छ । सञ्चारक्षेत्रलाई केवल सिमितताभित्र प्रयोग गरिरहेको छ  । प्रविधिमा मात्र होइन, प्रस्तुति, प्रयोग र प्रभावमा पनि । यसकारण पत्रकारिता पेशालाई नयाँ परिभाषासहित थप मर्यादित बनाउन जरुरी देखिन्छ । पत्रकारिता क्षेत्रमा प्राय इलेक्ट्रोनिक (विद्युतीय) र प्रिन्ट (छापा) दुवै क्षेत्रको मिडियामा संचार उपकरणको अभाव र प्राप्त तालिम ज्ञानको अभाव छ ।

पत्रकारितामा विचार, प्रक्रिया, आदर्श, निष्ठा, सिद्धान्त सबै मौन भएको हामी पाउछौ । समयको बिकास अनि परिवर्तनसँगै ज्ञान, चिन्तन र अनुशासनको निरन्तरता र बिकास पत्रकारितामा पनि भेटिनु पर्ने हो । कयौं परिवर्तनहरु सँगै ज्ञान, चिन्तन र अनुशासनमा लामो पत्रकारिताको इतिहास मुलुकले बाँकी रहँदा यी यथावत कुरामा परिवर्तन र निरन्तरता नहुँदा, पत्रकारिताका नाउँमा भएका कयौं परिवर्तन आज अर्थहीन साबित भइरहेका छन् । यिनै कुराबीचको अन्तर छुट्याउन र पत्रकारितालाई उत्तरदायित्व र जवाफदेहीपूर्ण पेशा बनाउन र मिडिया क्षेत्रको सर्वाङ्गीण हित र विकासका लागि दिगो पत्रकारिताको नीति ल्याउनुपर्ने देखिन्छ ।

Related Articles

One Comment

Leave a Reply

Your email address will not be published.

Back to top button