आज निर्वाचन : उम्मेदवार र मतदाताले के गर्न पाउँछन्, के गर्न पाउँदैनन्?

काठमाडौं- देशभर आज एकैसाथ स्थानीय तहको निर्वाचन हुँदैछ। ३५ हजार भन्दा बढी जनप्रतिनिधि चयनका लागि निर्वाचन हुन लागेको हो। बिहान ७ बजेदेखि ५ बजेसम्म लाइनमा बसेका मतदाताले मतदान गर्न पाउने बताइएको छ।
निर्वाचन आयोगले मतदानको दिन पालना गर्नुपर्ने आचरणका सम्बन्धमा प्रष्ट पारिसकेको छ। जसअनुसार, राजनीतिक दल वा उम्मेदवारको प्रतिनिधिले निर्वाचन चिह्न वा मत संकेत भएको पहिरन वा ब्याच लगाउन हुँदैन। कुनै राजनीतिक दल वा उम्मेदवारको पहिचान देखिने गरी एकै किसिमको सांकेतिक पोशाक र चिजवस्तु लगाउन, बोक्न वा देखाउन नहुने पनि आयोगको भनाइ छ।
‘कुनै किसिमको सवारी साधन प्रयोग गरी आवतजावत गरी कसैलाई लैजान वा ल्याउन नहुने तथा मतदाता एवम् आयोगले अनुमति दिएका व्यक्ति वा अधिकारी बाहेक अन्य कुनै पनि व्यक्ति मतदानकेन्द्रमा प्रवेश गर्न नहुने व्यवस्था छ’, आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ। यसैगरी मतदाताहरुले मतदानकेन्द्रमा मतदान गर्न जाँदा मोबाइल क्यामेरा तथा फोटो खिच्ने सामग्री, सलाई, लाइटर जस्ता प्रज्वलनशील पदार्थ, एसिड, कुनै प्रकारको हात हतियार लैजान पाउँदैनन्।
नमुना मतपत्र लगायतका कागजातहरू, कुनै राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिह्न भएको वा संकेत जनिने कुनै वस्तु लैजान नपाइने भनिएको छ।
‘कुनै नसालु पदार्थ वा मादक पदार्थ सेवन गर्न नहुने, मतदातालाई मतदान गर्न वञ्चित गराउने अभिप्रायले झुठा अफवाह भ्रामक समाचार फैलाउने वा कुनै अवरोध गर्ने काम गर्न गराउन नहुने, कसैको दल वा उम्मेदवारको झण्डा वा चिह्न अंकित कुनै कुरा लगाउन, बोक्न वा प्रदर्शन गर्न नहुने तथा कसैको पक्ष विपक्षमा सामाजिक सञ्जालमार्फत् कुनै कुरा प्रकाशन प्रशारण र संप्रेषण गर्न नहुने जस्ता व्यवस्थाहरु गरिएका छन्’, आयोगले भनेको छ।