बिकासप्रेमी वडाध्यक्ष जसले ल्याए २५ योजनामा बजेट

रातोपाटीन्यूज सम्वाददाता, बाह्रबिसे । बाह्रबिसे नगरपालिका– ९ का वडाध्यक्ष कृष्णबहादुर रायमाझी भद्र र सरल स्वभावका छन् । लामो समयदेखि सामाजिक काममा क्रियाशील रायमाझी गाउँका लागि विकासको मुलप्रवाह मानिन्छन् ।

वडाको स्तर नेपाल सरकारको सबैभन्दा सानो निकाय हो । वडाध्यक्ष जनप्रतिनिधिको तल्लो पद हो । तर, काम गर्नेलाई स्थान र पदले खासै फरक पर्दैन भन्ने उदाहरण रायले प्रस्तुत गरेका छन् । वडाध्यक्षमा निर्वाचित भएको तीन महिनामै करिब सात करोड बराबरको २५ योजना ल्याएर गाउँको विकासमा लागेका छन् ।

५० करोड बजेट ल्याएर बाह्रबिसे ओमपार्क सडक निर्माण र कालोपत्रे गरेका उनलाई गाउँमा सबै पार्टी र समूहले सम्मान गर्छन् । नेपाली काँग्रेसबाट चुनाव लडेर जितेका रायलाई एमाले, माओवादी र गाउँका अन्य राजनीतिक समूहले विकासप्रेमी भएकोले काममा सहयोग गर्छन् । भन्छन्, ‘म जुनसुकै पार्टीबाट उठेपनि जित्थेँ । किनकि, मैले समाजको लागि निश्पक्ष भएर काम गरेको छु ।’ पेशाले उनी ठेक्कापट्टा गर्छन् । यद्यपि, उनको पहुँच कर्मचारीतन्त्र र नेतासम्म निकै प्रगाढ छ ।

वडाध्यक्ष हुनसाथ बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रलाई एक गाडी औषधि ल्याएर हस्तान्तरण गरेका उनले गाउँका सयभन्दा बढी स्थानीयलाई विभिन्न पेशा र व्यवसायमा रोजगारी दिएका छन् । विकासको योजना पार्न घरमा नबसी विभिन्न निकायमा धाइरहने रायमाझीले यो वर्ष करिब २५ योजना वडाका लागि भित्र्याउन सफल भएका छन् । उनले केन्द्र र प्रदेशबाट यी योजना ल्याएका हुन् । नगरपालिकाबाट ५० लाख बजेट परेको छ ।

सयँले घुँडे सडकका लागि ९७ लाख र जुरे राम्चे घुँडे भैरबकुण्ड सडकका लागि ५० लाख बजेट पारेका छन् । सडकमै अँधेरीखोला ठोट्नेरी १७ लाख, आरुखर्क चुल्ठे १५ लाख, चुल्ठे घुँडे १५ लाख, आरुखर्क भट्टे कुकुरगाडे १५ लाख, जुरे राम्चे २० लाख, गैरीगाउँ कालिकाथान १५ लाख, केराबारी मैबले १५ लाख बजेट पार्न पहलकदमी लिएका छन् ।

स्थानीयसँग सल्लाह गरेर आवश्यकताका आधारमा योजनाको डिपिआर बनाउने गरेका रायले पुनः सबैसँग सल्लाह गरेर योजना कार्यान्वयन गर्ने गरेका छन् । यसैगरी खानेपानीका लागि राम्चेमा १३ लाख, आरुखर्क १५ लाख, कान्लेखोला प्यारे सिँचाइका लागि १५ लाख, कालीका मन्दिर १७ लाख, बहिरासंघ पहिरो नियन्त्रण १५ लाख, ठोट्नेरी रातमाटा सामुदायिक भवन १५ लाख, जुरे राम्चे नयाँबस्ती पहिरो नियन्त्रण ३० लाख र बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापनका लागि ४३ लाख रुपैयाँ बजेट परेको छ । तीनदेखि चार करोड रुपैयाँ बराबरको अरु योजना पनि पर्ने क्रममा रहेको उनले बताए ।

वडाअध्यक्ष भएर पनि गाउँका लागि यतिधेरै बजेट ल्याउने र रोजगार प्रदान गर्ने रायमाझी जनतामाझ लोकप्रिय छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Check Also
Close
Back to top button