पत्रकार महासंघद्वारा ३ ठूला सञ्चार गृहमा धर्ना

कोरोना महामारीको बहानामा अन्यायपूर्वक निष्काशित पत्रकारको स–सम्मान पुनःवहाली गर्नुपर्ने माग गर्दै नेपाल पत्रकार महासङ्घले तीन सञ्चार गृहमा धर्ना दिएको छ।
पत्रकारले कोभिड–१९ को समयमा काम गरेको तलब–भत्ता उपलब्ध गराउनुपर्ने माग गर्दै अन्नपूर्ण पोष्ट दैनिकको प्रकाशन गृह, नेपाल न्युज नेटवर्क इन्टरनेसनल प्रालि कारोबार दैनिकको प्रकाशन गृह, टिबीआई पब्लिकेसन्स प्रालि। राजधानी दैनिकको प्रकाशन गृह राजधानी न्यूज पब्लिकेसन प्रालिमा कालो ब्यानरसहित बुधबार दुई घण्टा धर्ना दिइएको हो।
महासङ्घले दशैं खर्चलगायतका विगतमा दिँदै आएका सेवा–सुविधासहित बक्यौता चुक्ता गर्न, नियमित पारिश्रमिक उपलब्ध गराउन, घटाइएको पारिश्रमिक बढाएर पूर्ण बनाउन तथा श्रमजीवी पत्रकार ऐन तथा नियमावली अनुसारका सेवा–सुविधा उपलब्ध गराउन यसअघि चेतावनी दिएको थियो।
अन्नपूर्ण पोष्ट दैनिकमा भएको धर्नामा महासङ्घका अध्यक्ष गोविन्द आचार्यले समस्याग्रस्त सञ्चारगृहका सञ्चालकसँग पटकपटक औपचारिक अनौपचारिक छलफल गर्दा पनि समस्या समाधान नभएकाले महासङ्घ आन्दोलन गर्न बाध्य भएको बताए।
नेपाल प्रेस युनियनका कोषाध्यक्ष सरोज अधिकारीले पत्रकारका जायज माग पुरा गर्नुपर्ने बताए।